८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

साउन ५ गतेदेखि तेह्रथुम पावरले आईपीओ निष्काशन गर्ने, क–कस्ले दिन पाउछन आवेदन ?


२८ असार, काठमाडाैँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर आईपीओ निष्काशन गर्न लागेको हो।

सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओमा साउन ५ गतेदेखि साउन १९ गतेसम्म आवेदन दिन सकिने छ, सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २ गतेसम्म लम्बिनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

सो शेयर खरिदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिनेछ।  आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार ११:४७