८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बाढीले अवरुद्ध १० मेगावाट क्षमताको तल्लो मोदी ‘१’ को उत्पादन सञ्चालनमा


२८ असार, पर्वत । बाढीले क्षति पु¥याएपछि बन्द रहेको तल्लो मोदी ‘१’ जलविद्युत् आयोजनाको उत्पादन शुरु भएको छ । यही असार २२ गते राति आएको बाढीका कारण ठप्प रहेको आयोजनाको उत्पादन एक सातापछि आइतबार साँझदेखि सञ्चालनमा आएको हो । जिल्लाको कुश्मा नगरपालिका–८ दोबिल्लामा रहेको सुन्दरेखोलामा आएको बाढीले मुहान र झण्डै ३०० मिटर नहरमा क्षति पु¥याएको थियो । सोही दिन मोदीखोलामा आएको बाढीले मुहानमा समेत क्षति पु¥याएको थियो ।

लगातारको प्रयासबाट मर्मत सम्पन्न गरेर आइतबार साँझदेखि उत्पादन शुरु गरिएको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सुन्दरेखोलामा आएको बाढीले चार मिटर चौडा र चार मिटर उचाइ रहेको ३०० मिटर नहर पूर्णरूपमा पुरिएको थियो । आयोजनाका कर्मचारी र अन्य कामदार गरी दैनिक ५० जना परिचालन गरी मर्मत गरिएको थियो ।

आइतबार साँझदेखि नौ दशमलव पाँच मेगावाट विद्युत् उत्पादन भएको गौतमले जानकारी दिनुभयो । बाढीका कारण आयोजनामा झण्डै रु साढे चारदेखि पाँच करोडसम्मको क्षति भएको अनुमान गरिएको छ । मोदीखोलाको बहाव उच्च रहेकाले मुहानमा भएको क्षतिको विवरण अझै यकिन हुन नसकेको उहाँको भनाइ छ । आयोजनाको उत्पादन गृहमा भने कुनै क्षति भएको थिएन ।

सुन्दरेखोलामा आएको सोही दिनको बाढीले मध्यपहाडी लोकमार्ग आयोजनाको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका साइट इञ्जिनीयर राजाराम आचार्य र चालक इन्द्र थारु सवार गाडीसमेत बगाएको थियो । बगाएको गाडी फेला परे पनि आचार्य र थारुको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन । बाढीले क्षति पु¥याएको मध्यपहाडी लोकमार्ग एकतर्फीरुपमा सञ्चालन भएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार ११:१९