१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जापानी अनुदान २७ करोड ४१ लाख उपलब्ध


२९ असार,काठमाडौँ  । जापान सरकारले मानव संशाधन विकासका लागि रु २७ करोड ४१ लाख अनुदान उपलब्ध गराउने भएको छ ।सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले जापानका नाम चलेका विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययनका निम्ति छात्रवृत्ति उपलब्ध गराउन उक्त अनुदान उपयोग गरिनेछ ।

अर्थशास्त्र, सार्वजनिक नीति, औद्योगिक विकास तथा कानूनी नीतिजस्ता विषयमा निजामती सेवाका कर्मचारीले छात्रवृत्ति पाउने छन् ।
विगत तीन वर्षदेखि जापानले उक्त छात्रवृत्ति प्रदान गर्दै आएको छ । २० जना नेपाली विद्यार्थीको तेस्रो खेप जापानी विश्वविद्यालयमा अध्ययनका निम्ति चयन भइसकेका छन् ।

अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा अर्थमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अर्थसचिव राजन खनाल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्नुभयो ।

राजदूत साइगोले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले जापान र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउनाका साथै नेपालको सामाजिक–आर्थिक विकासमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सचिव खनालले नेपालको विकास प्रयासमा निरन्तर सहायता प्रदान गरेकामा जापान सरकारप्रति आभार प्रकट गर्दै आगामी दिनमा जापानबाट विकास सहयोग अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार १५:१५