१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नुवाकोटको भैरवी मन्दिर पहिरोको कारण जोखिममा


२९ असार, नुवाकोट । अविरल वर्षाका कारण यहाँको प्रसिद्ध भैरवी मन्दिर र वरपरको बस्ती जोखिममा परेको छ । विदुर नगरपालिका–२, नुवाकोटस्थित पृथ्वीनारायण शाहकालीन भैरवी मन्दिर आसपासका क्षेत्रमा गए रातिको पानीले गएको पहिराको कारण सम्पदा र मानव बस्ती जोखिममा परेको हो । विदुर –२ धारापानी क्षेत्रमा बस्ती र नजिकै रहेको भैरवी मन्दिर र मन्दिरका पुजारी धामी हरिमानसिंह डंगोलको निवास क्षेत्रसमेत जोखिममा परेको नुवाकोट सम्पदा समाजका अध्यक्ष पुष्कर शर्मा रिमालले जानकारी दिनुभयो ।

विदुर–नुवाकोट–चोकदे सडकको स्तरोन्नतिका क्रममा सडकको भित्ता धेरै काटेर टेवा पर्खाल नलगाइएको कारण पहिरो गएर बस्ती र सम्पदा जोखिममा परेको हो । “मानव बस्ती अहिले नै जोखिममा परेको छ । यसलाई तत्काल नियन्त्रण नगरे नजीकै रहेको भैरवी मन्दिरसमेत पहिरोले बगाउने अवस्था आएको छ”, समाजका अध्यक्ष रिमालले भन्नुभयो, “सडक स्तरोन्नतिको क्रममा भित्ता कटिङ गर्दा सडकको भित्ता १०÷१२ मिटर अग्लो भएको छ तर टेवा पर्खाल भने दुई मिटर मात्र लगाइएको कारण पहिरो गएको हो ।”

प्रहरीका अनुसार १४ घर पूर्णरुपमा जोखिममा परेको छ । प्रहरीले स्थलगत अध्ययनपछि जोखिममा परेकाहरुको विवरण सार्वजनिक गरेको हो । चौध घरलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी थालिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार ०९:४०