१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौँ राष्ट्रिय शिखर सम्मेलनबाट दश बुँदे घोषणा पत्र जारी


१८ असार, काठमाडाैँ। दश बुँदे घोषणा पत्र जारी गर्दै स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौँ राष्ट्रिय शिखर सम्मेलन सम्पन्न भएको छ । कोभिड महामारीका बीच पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले बार्षिक रुपमा गर्दै आएको शिखर सम्मेलनलाई यसपटक पनि निरन्तरता दिएको थियो । कोभिड – १९ को जोखिमका कारण दुई दिने सम्मेलन भर्च्युअल रुपमा गरिएको थियो ।

सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धानमुलक कार्यहरुको प्रस्तुति दिएका थिए । यस्तै १९ वटा पोस्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुति थियो ।

सम्मेलनको पहिलो दिन हिजो कोभिड १९ र जनस्वास्थ्य संकट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीति सम्वन्धी आमन्त्रित विज्ञहरु र प्रस्तुत कर्ताहरुको प्रस्तुति थियो । दोस्रो दिन आज स्वास्थ्य तथा तथा जनसंख्यका विभिन्न ६ वटा विधाहरुमा प्रस्तुति थियो । जसमा मातृ तथा नवजात शिशु, बाल स्वास्थ्य तथा जेष्ठ नागरिक स्वास्थ्य, कार्यान्वनात्मक अनुसन्धान, संक्रामक रोगहरु पोषण मानसिक स्वास्थ्य र दुव्र्यसन, बाताबरणीय स्वास्थ्य , औषधिजन्य र बायोमेडिकल अनुसन्धान लगायतका विषयमा प्रस्तुतिकरण भएका थिए ।

यसैबीच सम्मेलन समापन समारोहका प्रमुख अतिथि बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले नेपालको स्वास्थ्य क्षेत्रलाई थप सुध्रिड गराउनका लागि अनुसन्धानको खाँचो रहेको बताए । उनले यस्तो खालको सम्मेलनबाट नयाँ नयाँ खोज अनुसन्धानका लागि उत्प्रेरणा जाग्ने भन्दै युवा बैज्ञानिकहरुलाई थप अनुसन्धानमा लाग्न आग्रह गरे । ‘एउटा कामलाई फरक ढंगले गर्नुहोस त्यसमा अनुसन्धान जोडिएको हुन्छ । तर उही कामलाई उही तरिकाले बर्षौ गर्नुहोस त्यो अनुसन्धान होइन रिपिटेसन हो ,’उनले भने ।

परिषदका अध्यक्ष प्राडा गेहनाथ बरालले अनुसन्धान गर्नका लागि कहिल्यै ढिला हुँदैन भन्दै स्वास्थ्य क्षेत्रमा यसखालको सम्मेलनमा नेपालको स्वास्थ्य नीतिमा सुधार गर्न तथा अध्ययन अनुसन्धानमा थप टेवा पुग्ने बताए ।

परिषदका उपाध्यक्ष प्राडा गौरबराज ढकालले अनुसन्धान विनाको स्वास्थ्य कल्पना गर्न नसकिने भन्दै नयाँ नयाँ अनुसन्धानमा केन्द्रीत हुन अनुसन्धानकर्ताहरलाई आव्हान गरे । उनले महामारीले प्रतिकुल बनेको अवस्थामा पनि अनुसन्धानले निरन्तरता पाएको भन्ने सम्मेलनमा आएका नयाँ नयाँ प्रतिवेदनले देखाएको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले सम्मेलनले पारित गरेको १० बुँदे घोषणा पत्र प्रस्तुत गरेका थिए । उनले कोभिड – १९ महामारीका कारणले जीवनका हरेक कदमहरुलाई प्रभाव पारेको र यसलाई बैज्ञानिक अनुसन्धानद्धारा तथ्यहरुमा आधारित नीति एवं अभ्यासहरुका सम्वोधन गर्नसकिने बताए । उनले सम्मेलन सफल बनाउन भूमिका खेल्ने अनुसन्धानकर्ता, परिषदका आफ्ना सहकर्मी तथा अन्य सरोकारवालालाई धन्यवाद दिए ।

यस्तो छ स्वास्थ्य १० बुँदे घोषणा पत्र

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार २१:३७