१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि केपी ओलीलाई साथ दियाैँः नेता थापा


७ असार, काठमाडाैँ । नेकपा(एमाले)का नेता मणि थापाले आफुहरु प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि साथ दिएको बताउनुभएको छ ।

नेता थापाले सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै आफुहरु प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट उपयोग नभएको जिकिर गर्नुभयो । उहाँले आफुहरु बृहत्तर कम्युनिष्ट आन्दोलनको पक्षमा रहेको र त्यही प्रक्रियालाई पुरा गर्नका लागि ओलीको साथमा रहेको स्पष्ट पार्नुभयो ।

ओली र प्रचण्डले शुरु गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफुहरुले कुनै राजनीतिक रुपमा गल्ती नगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो चरणमा जो समर्थन ग¥यौँ । त्यो समर्थनको आधार भनेको नेकपा निर्माणको आधार हो ।

हामी नेकपा निर्माण गर्न चाहान्छौँ र बृहत्तर कम्युनिष्ट आन्दोलन हामी बनाउन चाहान्छौँ जुन प्रक्रिया केपी ओली र प्रचण्डले शुरु गर्नुभयो । त्यो प्रक्रियालाई पुरा गर्न चाहान्छौँ । त्यो प्रक्रियालाई पुरा गर्ने बाटोबाट हामी हिडिरहेकाले राजनीतिक रुपमा केही गल्ती गरेका छैनौँ । हामी उपयोग भएको होइन् ।

राजनीतिमा लेनदेन, उपयोग, किनबेच र क्याम्प चेन्ज गर्ने जुन बनिरहेको छ त्यसले राजनीति विकृत गरेको छ । त्यसको पक्षमा हामी छैनौँ । हामी ठिक ठाउँमा छौँ । यहाँ हामी संघर्ष गरेर फेरी नयाँ कम्युनिष्ट आन्दोलनको ध्रुविकरणमा भएको हुनाले हामी त्यतिधेरै चिन्तित छैनौँ ।’

नेता थापाले नेकपा(एमाले)को एकतालाई आफुले जायज र न्यायिक ठान्ने बताउनुभयो । एकताको लागि प्रधानमन्त्री ओलीले वातावरण बनाउनुुपर्ने र माधव समुह पनि एकतामा आउनुपर्ने उहाँले बताउनुयभो । एमाले एकताले आफुहरुलाई फरक नपर्ने बताउँदै झनै ठुलो डिबेट कम्युनिष्ट आन्दोलन अगाडी बड्ने र डिवेटमा भाग लिन आफुहरु तयार रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो –‘पूर्व एमाले एक ठाउँमा आउने कुरालाई हामीले जायज र न्यायिक ठान्छौँ । उहाँहरु आउनुपर्छ । त्यसका निम्ति ओलीले राम्रो वातावरण बनाउनुपर्छ र माधव नेपाल समुहले पनि बदलिदो परिस्थितिलाई बुझेर आफुलाई ध्रुविकरणको पक्षमा ल्याउनुपर्छ र अरु कम्युनिष्ट घटकहरुपनि एक ठाउँमा आउनुपर्छ भन्ने मुल सिद्धान्तको जगमा हामीले काम गरिरहेको हुनाले उहाँहरु आउँदैमा केही फरक हुँदैन । ठुलो डिवेटबाट फेरी कम्युनिष्ट आन्दोलन खगाडी बढ्छ । त्यो ग्रेट डिबेटमा हामी भाग लिन तयार छौँ ।’

नेता थापाले आफुहरु पुरानो पार्टीमा फर्किने सम्भावना नरहेको पनि प्रष्ट पार्नुभयो । पुरानो पार्टी तोडेर नयाँ कम्युनिष्ट पार्टी बनाउनका लागि आइसकेकाले अब पुरानो नभइ नयाँ ध्रुविकरण आवश्यक रहेको उल्लेख गर्नुभयो । पूर्व एमालेको एकतामा पूर्व माओवादीको समुह मिसिदाँ कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हुने भएकाले यसैको ध्रविकरणमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘पुरानो ठाउँमा फर्कनसक्ने कुनै सम्भावना छैन ।

त्यो सम्भावना हिजो पनि थिएन । त्यो सम्भावना तोडेर नेकपा बनाएको स्थिति हो । हामी सबैले पुरानो ठाउँलाई तोडेर नयाँ आन्दोलन अथवा नयाँ कम्युनिष्ट पार्टी बनाउन भनेर आइसकेको हुनाले हामी सबैले तोडेको हो । अब पुरानोमा फर्किने होइन, नयाँको ध्रुविकरण चाहिँ जरुरी छ ।

त्यो ध्रविकरणको कोर्स कहाँबाट शुरु गर्ने भन्दाखेरी ठुलो जनाधार भएको कम्युनिष्ट पार्टी केपी ओलीले नेतृत्व गर्नुभाछ, उहाँले नेतृत्व गरेकै पार्टीबाट फेरी नयाँ खालको ध्रुविकरणको आवश्यकता छ । पुरानोले ध्रुविकरण गर्न सक्दैन । माओवादीको केन्द्रीकरण र एमालेको केन्द्रीकरणले समस्या समाधान हुँदैन । नेकपाको केन्द्रीकरण अथवा कम्युनिष्ट आन्दोलनको केन्द्रीकरणले मात्रै समस्या समाधान गर्छ ।’

उहाँले प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतको फैसलापछि मन्त्रिपरिषद् पुर्नगठन गर्ने सुझाव दिएको उहाँले बताउनुभयो । सर्वोच्चको फैसलापछि पुर्नगठन गर्दा राजनीतिक, कानुनी र नैतिक रुपले सही हुने निष्कर्षसाथ प्रधानमन्त्री ओलीलाई सुझाव दिएको भएपनि प्रधानमन्त्री ओलीको निर्णयमा आफुहरुको असन्तुष्टि नरहेको उहाँले उल्लेख गर्नुभयो ।

तर प्रधानमन्त्री ओलीले आफुहरुको सहभागिता बिना फरक ढंगले राजनीति गर्न चाहेमा राम्रो नहुने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सर्वोच्चको निर्णयपछि मन्त्रिपरिषद् गठनबारे राजनीतिक, कानुनी, नैतिक रुपले सही हुन्छ भनेर प्रधानमन्त्रीलाई भनेका हौँ ।

प्रधानमन्त्रीले लिएको डिसिजन स्वीकार गर्छौ भनेको हुनाले हामी यहाँ कन्फ्युजमा छैनौँ । बालुवाटार कन्फ्युज छन्, उनीहरुले कन्फ्युजको राजनीति गर्न खोजिराछन् भने, उनीहरुले भिन्न तरिकाले राजनीति गर्न खोजिरहेका छन् भने पनि त्यो उनीहरुलाई राम्रो हुँदैन । हामीले वैचारिक राजनीति गर्न खोजेको हुनाले हामीलाई कुनै लेनदेनको कुरा छैन । सुझाव नमान्दा असन्तुष्टि पनि होइन ।’

नेता थापाले एमालेभित्र पूर्व माओवादीहरुले पूर्व समुहको रुपमा आफ्नो अस्तित्व नखोजी वाम प्रवृति, राष्ट्रवादी प्रवृत्ति र प्रगतिशील प्रवृत्तिले प्रश्रय पाओस् भन्ने खोजेको बताउनुभयो । उहाँले सबै राजनीतिक विषय सर्वोच्च अदालतमा केन्द्रीकृत हुने स्थितिले देशको राजनीति परिवर्तनको एजेण्डा र परिवर्तनमाथि नै प्रश्न उठाएको पनि बताउनुभयो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १८:०९