७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नुवाकोटमा जस्ता काण्डको अर्को रूप, अर्कैको सामग्री केसी परिवारले आफ्नो भनेर बाँडे


२८ जेठ, नुवाकोट । नुवाकोटमा जस्ता काण्डको अर्को रूप फेला परेको छ । विगतदेखि नै अर्काकाे काम र नाममा दाबी गर्ने नुवाकोटका नेताहरूले यस पटक पनि त्यस्तै गरेका छन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्ना स्वर्गीय आमाबुबाको नाममा स्थापना गरेको ट्रस्टको नाममा वितरण गरेको सामग्री अर्कै संस्थाको रहेको तथ्य सार्वजनिक भएको छ ।

केसीले बिहीबार नुवाकोटको तारकेश्वर गाउँपालिका र किस्माङ गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा ३र३ वटा १० लिटरको अक्सिजन कन्सेनटेटर, मास्क र स्यानीटाइजर लगायत विभिन्न स्वास्थ्य सामग्री बितरण गर्नुभएको छ । उहाँहरूले यसोदा देवी भगवानसिंह केसी मेमोरियल ट्रस्टका नाममा समाग्री बितरण गर्नुभएको छ । यसका विषयमा समाजिक सञ्जालमा केसीले समाग्रीसहितको तस्बिर राखेपछि आलोचना समेत भएको छ ।

अमेरिकामा रहेका करिब दुइ हजार नेपालीहरूले आफ्नो गाँस काटेर पठाएको सामाग्री केसी परिवारले आफ्नो आमाबुबाको ट्रस्ट मार्फत बितरण गरेपछि अमेरिकामा सहयोगीहरूको बीचमा तनाव उत्पन्न भएको छ । अमेरिका नेपाल फाउण्डेसनले सहयोग स्वरूप पाठएको समाग्री केसी परिवारले त्यसरी बाँडेको थाहा पाएपछि सहयोगी मध्येका एक डा रमेश मरासिनीले केसीहरूको प्रचारले आफू दुःखीत भएको बतउनुभएको छ । उहाँले आफूहरूको सहयोगको दुरूपयोग भएको बताउनुभएको छ । जोन हप्किङ विश्वविद्यालयमा रिसर्च गर्दै गर्नुभएका उहाँले भन्नुभयो ‘येस्तो कुप्रचार देखेर हाम्रो सहयोग अवमुल्यन र राजनीतिकरण भएको देखेर मन दुखेको छ ।’

त्यस्तै अर्जुननरसिंह केसीले ट्वीटमा सामग्री बितरण गरेको जानकारी बाँडेपछि वरिष्ठ पत्रकार भुषण दाहालले भन्नुभएको छ ‘राष्ट्रलाई आएको बैदेशिक सहयोग त कम से कम आफ्नो वैयक्तिक सम्पत्ति जस्तो गरेर नबाँड्नुस् । हे राजनीतिक कर्मीहरुहरु हो एक्काइसौं शताब्दीमा जनता पुरातन छैनन् सबै बुझ्ने भैसके।’ वितरण कार्यक्रममा चिकित्सक संघका पूर्व अध्यक्ष डा केदारनरसिंह केसी र कांग्रेस नुवाकोटका सभापति जगदिश्वारनरसिंह केसी रहनुभएको थियो । यसअघि भूकम्पको बेलामा डा रामशरण महतका स्वकीय सचिव रमेश महतले पीडितको नाममा आएको जस्तापाता दुरूपयोग गरेर अन्त्यै लैजान लागको आरोपमा नागरिकले समातेका थिए ।

हाम्रो नियत त्यस्तो हैनः महासचिव केसी 

दैनिकीमा समाचार प्रकाशित भएपछि नुवाकोट कांग्रेसका सभापति एवं ट्रस्टका महासचिव जगदिश्वरनरसिंह केसीले सहयोग हस्तान्तरणका सम्बन्धमा आफूहरूको नियत खराब नभएको स्पष्ट पार्नुभएको छ । उहाँले दैनिकसँग कुरा गर्दै ट्रस्ट्रका संस्थापकले ट्वीटरमा थोरैमात्र अक्षर अट्ने भएकाले पुरै मिलाउन समस्या भएर त्यस्तो भएको बताउँदै अध्यक्ष केदारनरसिंह केसीको फेसबुकमा सबैकुरा पारदर्शी रूपमा राखिएको बताउनुभयो । उहाँले विपद्को समयमा सबैसँग गुहार मागेर कांग्रेसले सहयोग जुटाउ्दै आएको भन्दै आगमी दिनमा पनि नुवाकोटका जनताका लागि क्रियाशिल हुने बताउनुभयो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ०९:३५