१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नुवाकोटको पञ्चकन्यामा गाउँपालिका प्रमुखकै मिलेमतोमा बृद्ध भत्ताको ५३ लाख चोरी


२६ जेठ, काठमाडौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा बृद्ध भत्ताको ५० लाख चोरीमा गाउँपालिका प्रमुख र प्रशासकीय अधिकृतको मिलेमतो देखिएको छ । गत चैतमा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेश र प्रशासकीय अधिकृत नरेश पुडासैनीको समेत संलग्नता रहेको पाइएको छ ।

चोरीको अनुसन्धान गरिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुबै जनाको मिलेमतोमा सामाजिक सुरक्षा भत्ताको रकम चोरी भएको निष्कर्ष निकालेको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार मन्त्रालयले गरिरहेको अनुसन्धानले प्रत्यक्ष रूपमा प्रशासकीय अधिकृत र अप्रत्यक्ष रूपमा पालिका अध्यक्षको संलग्ताको आधार प्राप्त भएको बताउनुभएको छ ।

गाउँपालिकाको वडा नम्बर २ बाट सामाजिक सुरक्षा भत्ता चोरी गरिएको प्रकरणमा अध्यक्ष र गाउँपालिकाका प्रशासकीय अधिकृतको भूमिका शंकास्पद देखिएपछि मन्त्रालयले मसिनो ढंगले अनुसन्धान गरिरहेको छ । वडा कार्यालयका सचिव सरिता रावतसहितका ३ जना कर्मचारीले जिल्ला सदरमुकाम विदुरस्थित हिमालयन बैंकबाट भत्ता वितरणका लागि भनेर झिकेको ५० लाख र वडा कार्यालयमा भएको ३ लाख रुपैयाँ चैत २४ गते चोरी भएको थियो ।

चोरी भएको लामो समयसम्म गाउँपालिकाले घटनालाई गोप्य राख्न खोजेपछि मन्त्रालयले पालिका प्रमुखकै संलग्नतामा चोरी भएको निष्कर्ष निकालेको हो । पालिका प्रमुखको निर्देशनमा प्रशासकीय अधिकृतले बैंकवाट ५० लाख रुपैयाँ झिक्न सिफारिस गरेको गागज बैंकमा भेटिएको छ । १० लाख भन्दा बढी नगद झिक्न नपाउने र केन्द्रीय र स्थानीय सरकारको नीति अनुसार सामाजिक सुरक्षाको भत्ता सीधै बैंक खातामा पठाउने अभ्यास थालिसकेको अवस्थामा दुबै जनाको मिलेमतोमा ५० लाख रूपैयाँ नगद निकालिएको थियो ।

चोरीको घटना भएको साढे २ महिनापछि मात्र सार्वजनिक भएको थियो । गाउँपालिका अध्यक्ष तामाङले तीन कर्मचारीविरूद्ध मुद्दा दर्ता गरेर आफूहरू उम्किने बाटो खोजेको देखिएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १५:२७