१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध हुन्छः स्वास्थ्यमन्त्री तामाङ


२४ जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनसङख्या मन्त्री शेरबहादुर तामाङले सबै सर्वसाधारण नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार ब्यवस्थाको पहल गर्ने बताउनु भएको छ । मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उहाँले स्वास्थ्य बीमा कार्यक्रमको पुनसंरचना गरेर सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्र्ने जानकारी दिनुभयो ।

निःशुल्क उपचारको व्यवस्था गर्न सकिने कि नसकिने भनेर मन्त्रालयमा व्यापक अध्ययन र विज्ञसंगको छलफलबाट टुङ्ग्याइने उहाँले बताउनुभयो । “हामी अहिले कसरी निःशुल्क उपचार गर्न सकिन्छ भनेर विस्तृत अध्ययन र अन्तराष्ट्रिय अभ्यासको अनुभव पनि लिन्छौ ” उहाँले भन्नुभयो, “ हामी अध्ययनमा सफल भयौ भने स्वास्थ्य बीमा कार्यक्रमलाई पुनंसंरचना गरेर सर्वसाधारण नागरिकको स्वास्थ्यमा पहुँच र निःशुल्क उपचार गर्न सक्छौ ।

”स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको जनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमको दायराभित्र ल्याउने बताउनुभयो । “मानिस जन्मनसाथ जसरी जन्मदर्ता प्राप्त गर्दछ, त्यसैगरी स्वास्थ्य परिचय पत्र प्राप्त गर्ने कुनै बिधि हामीले बनाउछौ, ” उहाँले भन्नुभयो , “ स्वास्थ्य परिचय पत्र अनुसार स्वास्थ्यसंग सम्बन्धित सबै उपचार पाउने गर्दछ ।”

मन्त्री तामाङले विज्ञका अनुसार कोभिड–१९ को तेस्रो लहर आइरहेकोले तयारी गरिएको जानकारी दिनुभयो । तेस्रो लहरले बालबालिकालाई सङ्क्रमण गर्ने विज्ञले उल्लेख गरिएका छन् । उहाँले सातै प्रदेशमा सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर सहितको बालबालिकालाई उपचार गर्न अस्पताल स्थापना गर्ने बताउनुभयो । उहाँले आगामी बर्षभित्र ३९६ वटा अस्पतालको निर्माण सकिने जनाउँदै आगामी असार भित्र वोलपत्र आह्वान गरेर निर्माण प्रक्रिया बढाइने बताउनुभयो ।

उहाँले अहिले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताउनुभयो । “कोरोना विरुद्धको लडाई लडेर जनतालाई कोरोनामुक्त गराउने मेरो प्रथामिकता हुने छ,” उहाँले भन्नुभयो, “ यस लडाइमा सबको उत्तिकै जिम्मेवारीको साथै सहयोग हुनुपर्दछ ।” उहाँले कोभिड–१९ बिरुद्धको रोकथाम र नियन्त्रणका लागि केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल)मा श्यया, आइसियू र भेन्टिलेटर थप गरिने समेत जानकारी दिनुभयो । मन्त्री तामाङले सबै नागरिकलाई खोप लगाउन थप खोप ल्याउने जानकारी दिनुभयो । यसका लागि उत्पादक मुलुकसंँग छलफल भइरहेको उहाँले बताउनुभयो ।

उहाँले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने अस्पतालहरुको अनुगमन गरी कोभिड–१९ को उपचार सरकारले तोकिएकै शुल्कभित्र उपचार गराउन निर्देशन समेत दिने जानकारी दिनुभयो । उहाँले मन्त्रालयका हरेक कामलाई पारर्शी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १८:१६