४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

प्रदेश ३ को मन्त्रिपरिषद् विस्तार, पश्चिम वाग्मतीको प्रतिनिधित्व शून्य


१६ फागुन, काठमाडौँ । प्रदेश नं ३ मा मुख्यमन्त्री डोरमणि पौडेलले मौजुदा मन्त्रिपरिषद्मा आज चार जना नयाँ मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुमा नेकपा (एमाले)का तर्फबाट कैलाश ढुंगेल, अरुण नेपाल, दावा दोर्जे लामा र नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल हुनुहुन्छ ।

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले यहाँ आयोजित समारोहमा नवनियुक्त चारजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

उक्त कार्यक्रममा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ र विभिन्न मन्त्रालयका सचिव सहभागी हुनुहुन्थ्यो । वर्तमान मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित सात जना मन्त्री रहनुभएको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मौजुदा मन्त्रिपरिषद्को कार्य विभाजन यस प्रकार छः–

१. मुख्यमन्त्री डोरमणि पौडेल–मन्त्रिपरिषद् कार्यालय
२. केशव स्थापित– भौतिक पूर्वाधार विकास मन्त्रालय
३. शालिकराम जम्मकटेल –आन्तरिक मामिला तथा कानून मन्त्रालय
४. कैलाश ढुंगेल– आर्थिक मामिला तथा योजना ‘नवनियुक्त’
५. अरुण नेपाल– उद्योग पर्यटक, वन र वातावरण ‘नवनियुक्त’
६. दावा दोर्जे लामा– भूमि व्यवस्थापन कृषि र सहकारी ‘नवनियुक्त’
७. युवराज दुलाल –सामाजिक विकास मन्त्रालय ‘नवनियुक्त’

केही दिनअघि मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको थियो ।

नवनियुक्त मन्त्रीले आगामी शुक्रबार पदबहाली गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार २१:३७