१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

‘केसीको अनसनमा बिरामीलाई अनधिकृत रूपमा डिस्चार्ज गर्नेजस्ता घिनलाग्दा काम पनि भए’


२४ असार, काठमाडौँ । डा भगवान कोइरालाले डा गोविन्द केसीको अनसनका बारेमा मुख खोलेका छन । नागरिक दैनिकका लागि विमल आचार्यसँग अन्तरवार्ता दिँदै डा कोइरालाले केसीको अनसनका विषयलाई लिएर सरकार र केसी दुबैको कमजोरी औँल्याएका छन । उनले सरकारको सम्बोधन र प्रतिबद्धतामा विचलन रहेको र केसीको प्रस्तुतिमा विचलन रहेको बताएका छन ।

उनले केसीको माग आफूहरुको माग रहेको तर विना सल्लाह पटक पटक अनसन बस्दा प्राप्त भएका उपलब्धि पनि गुम्ने खतरा रहेको बताएका छन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रमुख हुँदाको एउटा नमिठो उदाहरण समेत कोइरालाले अन्तरवार्ताको क्रममा खुलाएका छन ।

उनले भनेका छन, ‘हो, म पनि रोइकराइ गरेर, वार्ता, छलफल गरेरै, हारगुहार गरेर काम बनाउन, माग पूरा गराउन लागिपरेको थिएँ नै । केही दिन पर्खनुस् भन्दाभन्दै उहाँ विनासल्लाह अनशन बसिदिनुभयो। उहाँ अनशन बसेपछि अस्पतालभित्र उपचाररत बिरामीलाई अनधिकृत रूपमा डिस्चार्ज गर्नेजस्ता घिनलाग्दा काम पनि भए । अनशन अवधिमा मैले जीवनमा कहिल्यै भोग्न नपरेको आत्मग्लानि महसुस गरेँ । म आफ्नो कारणले बिरामीलाई कहिल्यै सेवाबाट वञ्चित गराउँदिनँ भनेको र तुलनात्मक रूपमा कडा प्रशासक भनेर चिनिएको मान्छे आफ्नै आँखाअगाडि आफ्नै रेजिडेन्टहरूले आदेश पालना नगरी बसेको हेर्नुप¥यो । अनशनको अन्तिम दिन त इमर्जेन्सी पनि बन्द गर्ने कुरा गरे । ‘हामी इमर्जेन्सी सेवा पनि बन्द गर्छौं’ भनेर आमसभामै घोषणा गरे । भविष्यमा विशेषज्ञ बन्ने चिकित्सकहरूले इमर्जेन्सी सेवा नै बहिष्कार गर्छौं भनेर मलाई धम्की दिए । यो ज्यादै घृणित कार्य थियो । त्यो दिनलाई मैले शिक्षण अस्पतालको इतिहासमा मात्र नभएर मेरो जीवनको नै ‘कालो दिन’का रूपमा सम्झेको छु । बिरामीको सेवा पाउने हकलाई अवरोध गर्ने गरी अस्पताल हातामा कुनै पनि विरोध–अनशन हुनुहुन्न भन्ने मेरो दृढ मान्यता छ ।’

अन्तरवार्ता पुरै यहाँ पढ्न सक्नुहुन्छ । 

–‘समाधनको सूत्र- सामूहिक विद्वताको प्रयोग’

प्रकाशित मिति : २४ असार २०७५, आईतवार १०:४१