११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

नागरिकता अध्यादेश र भीम रावलको ट्वीट


-अर्जुन पाण्डे

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नागरिकता अध्यादेश जारी गरी थाती रहेका नागरिकता समस्या समाधानको प्रक्रिया थालेको छ । योसँगै अध्यादेशले नेपाललाई अब फिजी बनाउने भयो भन्दै एकाथरी मानिस उफ्रेका उफ्रियै छन । यद्यपी कुनै विपक्षी राजनैतिक पार्टीहरुले भने यसमा बोलेका छैनन् ।

किनकी यो संविधानकै धारा ११ मा उल्लेख भए बमोजिमका कार्यका निम्ति बनेको अध्यादेश हो । त्यो संविधान जसमा सबै पार्टीको सही छ । समर्थन छ । तसर्थ यसबेला ओली सरकारको शेखी झार्नकै निम्ती ती पार्टी नजिकका केही मानिसलाई उफारिएको छ । उफ्रिनेमा त्यस्ता विद्धान छन् जसलाई संविधान वा अध्यादेश पढ्ने फुर्सद समेत छैन । त्यता लाग्नु भन्दा सोझै सरकारमाथी खनिनुमा बहादुरी सम्झे झैँ छन् ।

तीनलाई तीथ्यसँग क्यै लिनु दिनु पनि छैन । केवल विरोध । यतिसम्म पनि ठीकै छ किनकी यो मानिसको अभिव्यक्ति स्वतन्त्रता हो । गरुन् । तर नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व गृहमन्त्री (२०६७), भीम रावल समेत यो अभियानमा सामेल हुँदाका अर्थ भने खोतल्नै पर्ने हुन्छ किनकी उहाँ त्यति ठूलो पार्टीका उपाध्यक्षसम्म हुनुभएका व्यक्तित्व, डाक्टर, पूर्व गृहमन्त्री उहाँले सितिमिती पक्कै बोल्नुहुन्न ।

उहाँले हालै एउटा ट्वीट गर्नुभएको कुराले सन्जाल तातेको देख्छु म । उहाँले, वीरगंजमा नागरिकता लिनेको भीड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको ! केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशिलाइ समेत चकलेट बाँडे जस्तो ! भन्नु मात्र भएको छैन सम्पूर्ण देशभक्त नेपाली राष्ट जोगाउन सक्रिय बनौं !! भनि ट्वीट गर्नुभएको छ ।

डाक्टर भीम रावल सामान्य मानिस हुँदै होइन र उहाँको बोली, लेखाइलाई पनि सामान्य मान्ने कुरै भएन । अब उपरोक्त अभिव्यक्तिलाई केलाएर हेरौँ । विरगंजमा नागरिकता लिनेको भिड लाग्यो रे । त्यसमा के आपत्ती ? के विरगंज नेपाल हैन ? के विरगंजका जनताले नेपाली नागरिकता नपाउने ? त्यसो हो भने डाक्टर भीम रावलको विरगंजका जनतालाई के ठान्नुभएको छ ? त्यस्तै अर्कोः त्यस्तो भीडमा भारतबाट आउनेको संख्या ठूलो रहेको पनि देख्नुभएछ ।

यो झन अचम्मको कुरा छः उहाँले कसरी देख्नुभयो ? कसरी त्यति छिटो छानविन गर्न भ्याउनुभयो ? जब कि त्यति नै बेला स्वयं उहाँ चाहिँ आफ्नो पार्टी छाडी नेपाली काँंग्रेसका देउवालाई प्रधानमन्त्री देउ भनी माग्दै अदालतमा लाम बसिरहुनभएको थियो । यो पनि त्यति मिलेन । अर्कोः नागरिकता पनि विदेशीलाई चकलेट बाँडे जस्तो रे । यो झन चौकिने खालको भयो । खासमा यस्तो चकलेट उहाँहरुले चाख्नुभयो होला २०६७ मा जब उहाँ गृहमन्त्री हुनुहून्थ्यो किनकी त्यतिबेला धेरै विदेशिका नागरिकता संवन्धी मुद्दा फिर्ता लिइएको थियो । त्यस्तै उहाँले निषेधाज्ञा र मानिसलाई घरमा बन्द राखेको पनि भन्नुभएछ । त्यो त हाल कोभिडको दोश्रो लहरबाट बच्न स्वास्थ विज्ञहरुकै सल्लाह सुझावमा निषेधाज्ञा गरिएको हैन र ?

आफू गृहमन्त्री भैसकेको कुरालाई विर्से पनि पढाइको डाक्टरीलाई कसरी भुल्नुभएको होला ? उहाँ जस्ता विद्धानले पनि जे मनलाग्यो त्यही, विना तथ्य बोलिदिने भएपछि अरुले के गरुन् ? फेरी अर्को तर्फ विचार गरौैँ यो राजनीति हो यहाँ यस्तो चल्छ । त्यसो हो भने उहाँ त देशको एउटा नेता । अब उहाँले भन्नु पर्योः नेपालको संविधान २०७२ मा उहाँको सही, सहमति छ कि छैन ? छैन भन्न त मिलेन किनकी त्यसमा उहाँले पनि हस्ताक्षर गर्नुभएको छ ।

उहाँलाई थाहा होला २०६५ मा जन्मको आधारमा नागरिकता लिएका नेपालका एक लाख नब्बे हजार नागरिकका छोरा छोरी थिए कि थिएनन् होला ? वा भए कि भएनन् होला ? उनिहरुलाई केटाकेटी नजन्माउने सर्तमा त पक्कै पनि नागरिकता दिनुभएको थिएन होला । त्यसो भए तिनका बालिग छोरा छोरीले हालसम्म नागरिकता नपाउँदा कस्तो समस्या भैरहेको होला ? अनुमान गर्न सक्नुहुन्छ ? जिप्रका गएको एक घण्टामा नागरिकता नपाउँदा खप्न नसक्ने हामी, १३ बर्ष सम्म नागरिकता नपाउँदा ती जनताका छोरा छोरीले कसरी खपेका होलान् ? त्यो पीडाको अनुभव तपाइँलाई छ ? यस्ता धेरै प्रश्नहरुको जवाफ खोजिरहेका छन् जनताले आज ।

देशका नेताहरु चाहे जुनसुकै पार्टीका होउन् यति सस्ता र हचुवाका भरमा बोल्ने, लेख्ने र क्षणिक स्वार्थका निम्ति सोझा साझा जनतालाई भडकाउने काममा लाग्छन् भने ति निन्दनीय मात्र होइन बहिष्कारयोग्य छन् । हो, हाल देशमा राजनीतिक दाउपेच चरम चुलिमा चलिरहेको छ । तर यासो भन्दैमा सामान्य सोच र विवेकको पर्दा खोलेर कोही पनि बुंगै हिड्नु हुँदैन । छाडा बन्नु हुँदैन । जे जस्ता भए पनि देशका नेताहरु तपाइँहरु नै हो । सरकार चलाउने पनि आज नभए भोली तपाइँहरुले नै हो । सभ्य बन्नुहोस्, तथ्यपरक बन्नुहोस् । तब मात्र जनतालाई सही दिशामा डोर्याउन सक्नुहुन्छ । आफैँ बाटो विराएर भीरमा पुग्नुभयो भने सबै भन्दा पहिले तपाँइहरु आफै खस्ने हो । जनता भीरको डीलमै हुन्छन् । आगे तपाइँहरुको मर्जी ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलवार १०:५६