१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल सुपर लिगः ललितपुर र बुटवल प्ले अफमा


२५ वैशाख, काठमाडाैँ । ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुरका लागि कप्तान अञ्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गर्नुभयो । दुवै टोलीले खेलको आरम्भदेखि नै निकै आक्रामक खेल प्रदर्शन गरेका थिए ।

खेलको छैटाैँ मिनेटमा विराटनगरका लागि विदेशी एडिलाजा सोमिडेले गोलको प्रयास गरे पनि असफल हुनुभयो । खेलको १४ औंँ मिनेटमा विराटनगरका एडिलाजाले नै गोलको अवसर गुमाउनुभयो ।

ललितपुरका गोलकिपर अर्पण कार्कीले उहाँलाई विफल पार्नुभयो । कार्कीले नै विराटनगरका सन्तोष तामाङको प्रहार सहजै रोक्नुभयो । खेलको ३६ औंँ मिनेटमा ललितपुरका कप्तान विष्टले पहिलो गोल गर्नुभयो । उहाँको प्रहार विराटनगरका गोलकिपर किशोर गिरीले रोक्न सक्नुभएन ।

खेलको ६३ औंँ मिनेटमा ललितपुरका रानाले आफ्नो टोलीका लागि दोस्रो गोल गर्नुभयो । खेलको ८१ औंँ मिनेटमा कप्तान विष्टले नै दोस्रो गोल गर्दै ललितपुरलाई ३–० गोलको अग्रता दिलाउनुभयो । खेलको ८५ आँैं मिनेटमा विराटनगरका रञ्जित धिमाल रातो कार्ड पाएर मैदानबाट बाहिरिनुभयो ।

खेलको इञ्जुरी समयमा विदेशी खेलाडी नुर्लान जाहिदले गोल गर्दै ललितपुरलाई ४–० ले खेल जिताउनुभयो । आजका खेलमा ललितपुरका कप्तान विष्ट प्लेयर अफ दी म्याच घोषित हुनुभयो । उहाँले रु २५ हजार पुरस्कार प्राप्त गर्नुभयो । उदीयमान खेलाडी ललितपुरकै डोना थापा चुनिनुभयो । उहाँले रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो । जीतसँगै ललितपुर ६ खेलमा ९ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । विराटनगर ६ खेलमा ७ अंक जोडेर पाँचाँैं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

यसैगरी अर्को खेलमा बुटवल नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै बुटवल प्ले अफमा प्रवेश गरेको हो ।

बुटवलका लागि निर्णायक गोल सुमन लामाले खेलको ८० औँ मिनेटमा गर्नुभएको हो । बुटवल लिग चरणको ६ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा कायम रहन सफल भयो । आइतबार लिग चरणको अन्तिम खेलमा चितवन र काठमाडौंँ भिड्ने छन् । धनगढी र काठमाडौंँबीच पहिलो क्वालिफायर तथा ललितपुर र बुटवलबीच दोस्रो क्वालिफयर खेल हुनेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार २१:४४