७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चलचित्र क्षेत्रमा बौद्धिक चोरीको संरक्षण र बीमा गर्न आग्रह


२५ वैशाख, काठमाडाैँ । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको दोस्रो दिन आज चलचित्र उद्योगमार्फत नेपालमा रोजगारीको अवसर तथा सामाजिक रुपान्तरण विषयक अन्तक्र्रिया सम्पन्न भएको छ ।

भर्चुअल कार्यक्रममा नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे चलचित्र जगत्का हस्तीसँग गहन छलफल गरिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान (निफ)का अध्यक्ष केपी पाठकले बताउनुभयो ।

कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रमा सरकारले बौद्धिक चोरीको संरक्षण गर्नुपर्ने बताउँदै यस क्षेत्रमा काम गर्नेहरुका लागि उचित बीमाको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

कलाकार नीर शाहले नेपालको चलचित्र क्षेत्रमा रोजगारीको सिर्जना, जनशक्तिको विकास कसरी गर्नेलगायत विषयमा गहन अध्ययनविना शुरु भएको उद्योगले थोरै मात्रामा भए पनि चलचित्र जगत्मा श्रमशक्ति स्थापित गर्न सफल भएको बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीलाई दक्ष बनाउन र विश्व बजारमा प्रतिस्पर्धा गर्न चलचित्र शिक्षालाई व्यावसायिक बनाउन जरुरी रहेको बताउनुभयो । महोत्सव यही वैशाख २७ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ०९:००