७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एमाले विवाद अन्त्य नजिक, यस्तो बन्दै छ समझदारी


२५ वैशाख, काठमाडौँ । नेकपा (एमाले)भित्रको जारी विवाद अन्त्यका लागि दोस्रो तहका नेताहरु सक्रिय बनेका छन । दुबै समूहका दोस्रो तहका नेताहरु जम्मा गरेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले ल तपाईहरुले पार्टीको विभाजन रोकिने गरी एउटा समझदारी बनाउनुस् भनेर सात नेतालाई जिम्मा दिनुभएको छ ।

जसमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपमहासचिवद्धय विष्णु पौडेल र घनश्याम भुषाल, सचिवद्धय गोकर्ण विष्ट र योगश भट्टराई र स्थायी कमिटी सदस्यद्धय सुरेन्द्र पाण्डे र विष्णु रिमाल रहनुभएको छ । उहाँहरूले शुक्रबारकाे बैठकबाट एउटा मध्यमार्गी बाटो तय गरिसकेको स्रोतले जनाएको छ । त्यसमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत भए एमालेले नयाँ जीवन पाउनेछ । माधवकुमार नेपाल समूहमा रहेका पनि पाँच जना भन्दा बढी सदस्य पार्टी विभाजनको पक्षमा नरहेको पाइएको छ ।

पछिल्लो समय एमाले विवाद मिलाउने मुख्य भूमिकामा प्रधानमन्त्री केपी शर्मा ओली आफैँ देखिनुभएको छ । विगतमा दोस्रो तहका नेताहरुलाई बढी सक्रिय गराउने प्रधानमन्त्री ओलीले नेताहरुलाई छुट्टाछुट्टै र सामूहिक भेट गरिरहनुभएको छ । शुक्रबार मात्र प्रधानमन्त्री ओलीले नेता विष्टसँग झण्डै तीन घण्टा एक्लै छलफल गर्नुभएको थियो ।

त्यसपछि सात जना नेताहरुलाई सँगै राखेर ल तपाईहरुले एमाले विभाजन रोक्ने एउटा मध्यमार्गी निकास निकाल्नुस भनेर जिम्मेवारी दिनुभएको थियो । त्यसपछि सात जना नेताहरुले लामो छलफल गरेर केही सीमित विकाल्प तयार पार्नुभएको स्रोतले जनाएको छ । उहाँहरुले तयार पारेको विकल्पमा दुबै नेता सहमत भएको एमाले विभाजन टर्ने निश्चित छ ।

नेताहरुले पदाधिकारी र माओवादीबाट एमाले प्रवेश गर्नुभएका नेताहरुसहितको स्थायी कमिटी बैठक बोलाउने मध्यमार्गी प्रस्ताव तयार पार्नुभएको छ । जुन अहिले ओली र नेपाल दुबै नेताले नहार्ने प्रस्ताव हो । स्रोतले दिएको जानकारी अनुसार यस विकाल्पमा कार्यदलमा नेपाल पक्षबाट रहनुभएका सबै सदस्य सहमत हुनुभएको छ भने ओली पक्षबाट कार्यदलमा रहनु भएका सबै सदस्य सहमत भए पनि उहाँहरुले एक पटक अध्यक्ष ओलीको राय लिनुपर्ने बताउनुभएको छ ।

समझदारी अनुसार त्यसरी बोलाइने स्थायी कमिटीले बाँकी प्रक्रिया अघि बढाइनेछ भने मातहतका कमिटीहरू सबै नवाैँ महाधिवेशनपछिको अवस्थामा पुग्नेछन । यो समझदारी नेताहरूले जित्ने भन्दा पनि एमाले पार्टीले जित्ने खालकाे भएकाे कार्यदलका सदस्यहरू बताउँछन । यसपटक कुनै पनि नेताको हार वा जित भन्दा पनि सग्लो एमाले बनाएर पार्टी एक बनाउने गरी काम भैरहेको छ ।

कार्यदलले छलफल सकारात्मक भएको भन्दै निकासका लागि निरन्तर संवाद गर्ने र प्रस्तुत विकल्पमा ओली र नेपाल सहमत भएको खण्डमा उहाँहरुको बीचमा समेत एउटा बैठक राखेर एमाले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने प्रयास सार्थक हुनेछ । सात सदस्यीय कार्यदलका सदस्यहरु यही वैशाख २७ मा प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिलाएर अघि बढाउने पक्षमा हुनुहुन्छ । उहाँहरुले पार्र्टी एकताबद्ध रहको सन्देश दिन २७ गते महत्वपूर्ण हुने अपेक्षा समेत गर्नुभएको छ । कार्यदलको बैठक आज पनि बस्नेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ०७:३९