१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

दोस्रो तहका नेता एमाले विभाजन रोक्न दाैडधुपमा, तर माधवकुमार नेपाल…


२३ वैशाख, काठमाडौँ । नेकपा एमालेका दोस्रो तहका नेताहरूले एमालेको विभाजन रोक्नुपर्ने निष्कर्षसहित सक्रियता बढाएका छन । वडा तहसम्म समानान्तर गतिबिधि गरिरहेको माधवकुमार नेपाल समूहका नेतासँग अध्यक्ष केपी शर्मा ओली निकटका विष्णु पौडेलले बिहीबार भेटवार्ता गर्नुभएको छ ।

बिहीबार मेरियट होटलमा अर्थमन्त्री समेत रहेका पौडेले ओलीको सन्देशसहित माधव नेपाल समूहका प्रभावशाली नेताहरूसँग छलफल गर्नुभएको छ । छलफलमा उत्साहजनक रहेको र त्यसले केही सकारात्मक परिणाम दिने आश गरिएको एमाले नेता सुरेन्द्र पाण्डेले सञ्चारकर्मीसँग बताउनुभएको छ ।

पौडेलले बिहीबार सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईसँग छलफल गर्नुभयो । तीन नेताबीच करिव आधा घण्टा कुराकानी भएको थियो । यसअघि बुधबार महासचिव ईश्वर पोखरेलले योगेश भट्टराई र गणेश पहाडीबीच छलफल भएको थियो । सम्भवतः भोलि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुनेछ ।

बिहीबार युवा नेताहरू एमाले विभाजन रोक्ने भन्दै छलफलमा जुटिरहँदा माधव नेपाल भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमाले नेतृत्वकै सरकार कसरी ढाल्ने भनेर सल्लाह गर्दै हुनुहुन्थ्यो ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति देउवासँग भेटवार्ता बढाइरहनुभएका नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीलाइ जसरी पनि सत्ताबाट हटाउने अभियानमा हुनुहुन्छ । उही अभियानकै क्रमममा उहाँले देउवा र प्रचण्डसँग आफूहरूको राजनीतिक भविष्य के हुने भन्नेबारेको ग्यारेन्टी दिन समेत माग गर्नुभएको उहाँ निकाटका नेताहरूले बताउनुभएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार २१:४६