१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपाल सुपर लिगः काठमाडौँ रेजर्सले हरायो बुटवल लुम्बिनी एफसीलाई


२१ वैशाख, काठमाडाैँ । नेपाल सुपर लिगअन्तर्गत आज सम्पन्न खेलमा काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौँले बुटवललाई एक शून्य गोलले हराएको हो । हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

काठमाडौँका लागि निर्णायक गोल विदेशी स्टेफेनको विलोङले गर्नुभएको हो । उहाँले खेलको पाँचौँ मिनेटमा गोल गर्नुभएको हो । खेलको शुरुआतदेखि नै काठमाडौँले निकै आक्रामक खेल खेलेको थियो ।

यस्तै खेलको सातौँ मिनेटमा बुटवलले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरको बुटवलले फाइदा लिन सकेन । खेलको १३ औँ मिनेटमा काठमाडौँले गोलको अवसर पाएको थियो । सो अवसरको सदुपयोग भने हुन सकेन ।

यस्तै खेलको २६ औँ मिनेटमा पनि बुटवलले गोलको अवसरको फाइदा लिन सकेन । खेलको २८औंँ मिनेटमा बुटवलका सुमन लामाले गरेको गोलको प्रयास असफल भयो । मध्यान्तरपछिको खेलको ८६ औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गोलमा परिणत हुन सकेन ।

जीतसँगै काठमाडौंँले तीन अंक बटुलेको छ । काठमाडौँको चार खेलमा सात अंक भएको छ । बुटवललाई पछि पार्दै काठमाडौँ लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुटवल चार खेलमा पाँच अंक जोड्दै लिगको चौथो स्थानमा खुम्चिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार २१:२६