१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पूर्वप्रधानमन्त्री खनाल र पूर्वरानी शाहको स्वास्थ्यमा सुधार


२१ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा क्रमिक सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा कोभिड–१९ सङ्क्रमित भई उपचाररत दुवैको स्वास्थ्यमा सुधार भइरहेको हो ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाका अनुसार अक्सिजनमा राखेर उपचाररत नेता खनालको स्वास्थ्यवस्था सुधारोन्मुख छ । उहाँ कोरोना भाइरस सङ्क्रमण भई गत शनिबार अस्पतालमा भर्ना हुनुभएको थियो ।
यस्तै प्लाज्मा थेरापी विधिबाट अस्पतालमा उपचार गराइरहनुभएका पूर्वरानी शाहको अवस्थामा पनि सुधार आएको उहाँले बताउनुभयो । गत बिहीबारदेखि पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको हो ।

अहिले पनि उहाँको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । उहाँका अनुसार अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ । भारतको हरिद्वारमा भएको कुम्भमेलाबाट फर्किएपछि पूर्वराजारानीलाई सङ्क्रमण भएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १७:४७