११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

कोरोना नियन्त्रणमा ‘स्पुटनिक भी’


-अर्जुन पाण्डे

नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर अत्यधिक हुँदा र यो नियन्त्रण भन्दा बाहिर जानै लाग्दा सरकारले महामारी रोकथामका निम्ति राजधानी लगायत देशका विभिन्न जिल्लाहरुमा अस्पताल बेडहरु थप्न तदारुकता देखाएको छ । यसै क्रममा काठमाडौंमा एक हज्जार बेड थपिएको खबर आएको छ । यसले कोरोना संक्रमित विरामीको उपचारमा हाल भैरहेको संकटलाइ थोरै भएपनि समाधान गर्न र माहामारी रोकथाम गर्न सहयोग पुग्ने आशा गर्न सकिन्छ । साथै सरकारले रसियन खोप स्पुटनिक भी नेपाल ल्याउने तैयारी गरेको पनि जानकारिमा आएको छ ।

प्रधानमन्त्री ओलीले यस बारेमा रसियन राजदूत एलेक्सेइ नोभोकोभसंग बार्ता गर्नुभएको र राजदूत नोभोकोभले खोप उपलव्ध गराउने बारे सकारात्मक जवाफ दिनुभएको छ । यो संगै स्वास्थ मन्त्रालय सो खोप ल्याउने तैयारीमा जुटेको छ । समाचारमा जनाइए अनुसार रुसले आगामी डिसेम्बरसम्ममा ८० लाख डोज स्पुटनिक भी दिनेछ भने केही डोज तत्काल उपलव्ध गराउने उल्लेख छ ।

के हो स्पुटनिक भी ?

स्पुटनिक को अर्थ हो यात्रा अभियान । यो रसियाले अन्तरिक्षमा प्रक्षेपण गरेको पहिलो स्याटेलाइटको नाम हो । इबोला विरुद्धको भ्यक्सिन बनाउन संलग्न संस्था, रसियाको गामालेय नेशनल इन्स्टिच्युट अफ इपिडेमीयोलोजी एण्ड माइक्रोबायलोजीले उत्पादन गरेको कोरोना भ्याक्सिनलाइ यो नाम दिइएको हो । खोप लन्च गर्दै गर्दा मेडियासंग रसियाका राष्टपति पुटिनले भनेका थिए यो विश्वको पहिलो कोरोना खोप हो । यो सर्बोत्कृष्ट खोप हो ।

खासमा यो भाइरल भेक्टर खोप हो जुन एस्टोजेनेका र जोन्सन एण्ड जोन्सनले बिकास गरेका खोपसंग मिल्दोजुल्दो छ । यसलाइ भण्डारण गर्न, व्यावस्थापन गर्न सजिलो छ । भेक्टर खोपमा साधारण हानीरहीत निष्कृय भाइरस प्रयोग गरिएका छन् । जब खोप लगाइन्छ तत् पश्चात शरिरले बाहिरबाट प्रवेश गर्ने हानिकारक भाइरस विरुद्ध एन्टीबडी र टि सेल उत्पादन गर्दछ जुन शरीरको प्रतिरोध क्षमता बृद्धि गर्नको निम्ति महत्वपूर्ण हुन्छन् ।

स्पुटनिकको सवालमा केही अस्वभाविक चाहिँ के छ भने यो दुइ भिन्न प्रकारका भाइरस उपयोग गरेर बनाइएको छ जसलाइ पहिलो र दोश्रो डोज गरि लगाइन्छ । यसमा पहिलो डोजबाट हुन सक्ने संभावित नकारात्मक असरलाइ दोश्रो डोजले सन्तुलन गर्ने र अपेक्षित प्रतिरोध क्षमता बढाउँने दावी गरिएको छ ।
कति प्रभावकारी छ स्पुटनिक भी ?

सैदान्तिक हिसावले दुइ भिन्न भेक्टरको प्रयोग संभव छ र यसो गर्नुको मक्सद उच्च प्रभावकारीता नै हो । अन्य भ्याक्सिन जस्तै एस्टाजेनिका, ( ७६ %), जे एण्ड जे (८५.४ % ) ले एउटा मात्र भेक्टर प्रयोग गरेका छन् त्यसैले तिनको प्रभावकारिता तुलनात्मक रुपमा कम देखिएका छन् जब कि फाइजर ( ९५% ) र मोडर्नाको (९४.१ % ) छ । यति हुँदाहुँदै पनि स्वतन्त्र रुपमा स्पुटनिकको प्रभावकारिता यत्ति नै छ भनेर भन्न गाह्रो छ । हुनत गत अगष्ट महिनामै रसियाको स्वास्थ विभागले यसलाइ रष्टिय प्रयोगशालामा परिक्षण गरि नागरिकमा लगाउने स्विकृति दिइसकेको थियो । तर फास्ट ट्याकबाट परिक्षण गरेर स्विकृति दिएको खोप हाल आठ महिना भैसक्दा सम्म पनि सो खोप बारेका विश्वसनीय तथ्यांकहरु बाहिर उपलव्ध गराइएको छैन । जसका कारण हाल सम्म कुनै पनि स्वतन्त्र औषधि परिक्षण निकायले उक्त भ्याक्सिनका प्राथमिक तथ्यांक हेर्न, अध्ययन गर्न पाएका छ्रैनन् ।

गत सेप्टेम्बरमा बृटिश मेडिकल जर्नल द ल्यानसेटले स्पुटनिक भी को पहिलो र दोश्रो चरणका परिक्षणका नतिजा प्रकाशित गरेको थियो । दुवै चरणका परिक्षणमा ३८ । ३८ जना सहभागी गराइएको थियो र जसको नतिजा उच्च प्रभावकारि रहेको र कुनै गम्भीर नकारात्मक असर नभेटिएको उल्लेख गरियो । पुनः २ फेब्रुअरीमा रसियन बैज्ञानिकहरुले तेश्रो चरणको परिक्षण नतिजा सोही मेडिकल जर्नलमा प्रकाशित गरे । उनीहरुका अनुसार सो परिक्षणमा १८००० मानिस सहभागी गराइएको थियो जसलाइ तीन हप्ताका फरकमा दुबै डोज खोप दिइएको थियो ।

यो परिक्षणमा चाहिँ खोपको प्रभावकारिता ९१.६ रहेको र कुनै गम्भीर नकारात्मक असर नरहेको जनाइयो । तर प्राथमिक तथ्यांक उपलव्ध नगराइएको भन्दै यो नतिजामा पनि अन्तराष्टिय विज्ञहरुले शंका व्यक्त गरे । पछिल्लो पटक गत अप्रिल ३ मा पुनः प्रकाशित नतिजामा चाहिँ स्पुटनिक भी, कोरोनाको युके मा देखिएको बी १ १ ७ भेरियन्ट र दक्षिण अफ्रिकामा देखिएको १ ३५१ भेरियन्ट दुवै विरुद्ध उत्तिकै प्रभावकारी देखिएको बताइयो, यद्यपी यसमाथि पनि स्वतन्त्र पुष्टी भएको छैन भनि शंका व्यक्त गरिएको छ ।

जोखिम कति छ त ?

गत अप्रिलको शुरुआतमा युरोपियन युुिनयनका स्वास्थ संस्थाहरुले स्पुटनिक खोप लगाएको ४ जनाको मृत्यु भएको र अन्य ६ जनाको स्वास्थमा गम्भीर असर देखिएको दावी गरेका थिए । यो दावीलाइ रसियाका स्वास्थ विज्ञहरुलाइ ठाडै इन्कार गरे र भने त्यो खोपको प्रत्यक्ष कारणबाट हुन गएको भन्ने कुनै बस्तुगत आधार छैन । उनिहरुले स्विकार गरे कि खोपको कारणबाट केहीमा सामान्य स्वास्थ समस्या जस्तै, हल्का ज्वरो, टाउको दुख्ने, थकान आदि असर भने हुन सक्छ ।

स्पुटनिक खोपको प्रभावकारिता र सुरक्षाका बारेमा युरोपियन स्वास्थ संस्थाहरुले चासो राखेका राख्यै छन् र भिन्न भिन्न प्रतिकृया पनि दिइरहेका छन् । उनिहरुको भनाइ छ यदि स्पुटनिकलाइ युरोपमा अनुमति दिइने हो भने त्यसको संपूर्ण डाडासेट सहित उपलव्ध गराउनु पर्दछ । तर रसियन अधिकारीहरु भने यस्तो डाटासेट उपलव्ध गराउन हिचकिचाइरहेका छन् ।

स्पुटनिकलाइ भी कहाँ कहाँ अनुमति दिइएको छ ?

जर्मन संचार संस्था डी डब्लु को एक रिसर्च अनुसार स्पुटनिक भि लाइ भारत लगायत अन्य ६० देशहरु जस्तैः मेक्सीको, इरान, घाना, श्रीलंका, साइबेरिया, प्यालेस्टाइन क्षेत्र, बोस्निया, हर्जगोभिनामा स्विकृति दिइएको छ । युरोपियन संस्थाहरुले स्पुटनिकलाइ स्विकृती दिएका छैनन् र पनि इयु सदस्य राष्ट हंगेरी र स्लोभाकियामा यसलाइ आपतकालिन प्रयोेगका निम्ति स्विकृति दिइएको छ ।

हंगेरिले त आफ्ना नागरिकहरुलाइ यो खोप दइरहेको छ तर स्लोभाकियामा भने रसियाले पठाइदिएको २००००० डोजलाइ स्विकृती दिन सकिरहेको छैन । आजको परिदृष्य यस्तो छ कि स्पुटनिक भि कुन देशले स्विकृति दियो र कुन देशले दिएको छैन, वा कसले यो खोप लगाउन सुरु गर्यो भनि पत्ता लगाउन कठिन छ किनकी रसिया आफैले पनि अप्रिल १२ सम्मको तथ्यांक हेर्दा ८८ लाख ( ६ % ) रसियनलाइ मात्र यो खोपको पहिलो डोज दिएको छ ।

हाल केही देशहरुले स्पुटनिक भ्याक्सिनको अर्डर गरिसकेका छन् र परिक्षणको रुपमा धमाधम लगाइँदैछ पनि । तर उनिहरुले खोपलाइ पूर्ण अनुमति दिएको छैनन् । यस्तै ब्राजिलले भने ७ करोड ६ लाख डोज खोपको अर्डर गरिसकेको छ ।

होला त स्पुटनिक भी सर्बसुलभ ?

हालको परिवेश हेर्दा स्पुटनिक भी, यसको मूल्य र व्यवस्थापन सहजताका कारण विश्वमा अन्य कम्पनीका खोप भन्दा धेरै देशको पहँुचमा पुग्ने अनुमान गर्न सकिन्छ । अहिल्यै यो खोप उपलव्ध गराउन ६० देशहरुले सम्झौतामा हस्ताक्षर गरि अर्डर गरिसकेका छन् । भ्याक्सिनको विकासमा लगानी गरेको संस्था रसियन लगानी कोष हाल विभिन्न देशसंग संझौता बार्तामा व्यस्त छ । यति मात्र होइन सो संस्था खोप उत्पादन गर्न रसिया बाहिर अन्य देशमा जाने तरखरमा छ । यो खोप उत्पादन गर्न ५ भारतीय कम्पनीसंग संझौता भैसकेको छ र ति कम्पनीहरुले भारतमा ८५ करोड डोज भ्याक्सिन उत्पादन गर्ने निर्णय गरिसकेका छन् ।

भारतले यहि मे महिना देखि उमेर पुगेका हरेक नागरिकलाइ दिने खोप अभियानको नयाँ चरण सुरु गर्दैछ । यसले पछिल्ला दिनहरुमा छिमेकि देश भारतमा ताण्डव देखाइरहेको कोरोनालाइ परास्त गर्न ठूलो मद्धत मिल्नेछ । साथै छिमेकमा कोरोना मत्थर हुँदा नेपालमा पनि स्पुटनिक भी सिघ्रतिसिघ्र उपलव्ध गराउन सके कोरोना नियन्त्रण गर्ने सहज बातावरण बन्नेछ । खोपको यो सुलभता र संभावना हेर्दा यो आशा गर्न सकिन्छ कि अब नेपालीले पनि कोरोना कहरबाट मुक्त हुने दिन धेरै टाढा छैन । (अनलाइन स्वास्थ्य जर्नलहरुका लेख, टिप्पणी र समाचारमा आधारित )

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १०:११