१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

गण्डकीकी पियारीको ‘प्यारो कथा’


१९ वैशाख, बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने समयमा जनमोर्चाका सांसद खिमविक्रम शाही एकाएक हराएको भनि निवेदन दिने पियारी थापा यतिखेर चर्चामा छिन् । जनमोर्चा संसदीय दलका नेता कृष्ण थापालाई समेत थाहा नदिई कांग्रेस–माओवादीसँग मिलेर पियारीले सांसद शाही बेपत्ता भनेर निवेदन दिएपछि प्रदेश सभा अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

शाही कोरोण संक्रमित भएर बेहोस् भई स्थानीय चरक अस्पतालमा रहेको बेला पियारीले सत्ता पक्षले ‘अपहरण‘ गरेको जस्तो गम्भिर आरोप लगाउँदै हिडेकी छिन् । यतिखेर शाही अस्पतालमै छन् । संसदीय दलका नेता थापा र पियारीको मत बाझिएको छ । सांसद शाहीलाई उनै प्यारीले बदनाम गर्दै आएकी छिन ।

को हुन त पियारी ?

२०५९, ६० सम्म बागलुङ जिल्लाको रक्तिम परिवारको कलाकार टोलीमा नाच्ने कलाकार थिइन् । बागलुङ सुखौराकी पियारी तंग्रामका रक्तिमकै कलाकार हेमराज आश्रमसँग बिबाह गरी काठमाडौं बस्न थालिन । काठमाडौं बस्नेक्रममा उनले पार्टी कलाकार छोडेर डान्स बारमा कम शुरु गरिन । रक्तिमको जनवादी गीतमा नाचेकी पियारीलाई डान्स बारको आधुनिक गीतमा नाच्न खासै अप्ठेरो भएन । अहिले पनि कही साँस्कृतिक कार्यक्रमहरुमा अतिथि भएर गइन भने मञ्चमै उठिबसी नाचेर सबैलाई चकित पार्छिन ।

नेकपा (मसाल)मा बहुमत, अल्पमत भएपछि जीवन शर्मासहित रक्तिमका कलाकार टोली बाहिरियो । जीवन शर्मा रक्तिममा हुँदै महामन्त्री मोहन विक्रम सिंहले आफूद्वारा लिखित ‘फागुन २४‘ फिल्म निर्देशन गर्न भनेका थिए । तर, शर्माले स्क्रिप्ट राम्रो नभएकाले निर्देशन नगर्ने अडान लिए ।

पछि शर्मा पार्टीबाट पाखा लगाईए र ‘फागुन २४‘लाई पियारीका श्रीमान आश्रमले निर्देशन गरे । फिल्म निर्देशन गरिदिएका कारण पियारी र आश्रम सिंहको प्यारो बने । २०७४ को प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको नाम मध्ये जिल्लाबाट पियारीको सिफारिस भएको थिएन ।

समग्र गण्डकी प्रदेशको समानुपातिक उम्मेदवारको नामवलीमा पनि उनको नाम सिफारिस भएको थिएन । निर्वाचन आयोगमा बन्द सुची पेश गर्नेबेला एकाएक मोहन बिक्रम सिंहले पार्टीभित्र कसैलाई सुईको नदिई पियारीको नाम पहिलो नम्बरमा राखे । सोही बन्द सूचीका आधारमा उनी गण्डकी प्रदेश सभा सदस्य बनिन ।

पार्टीको निर्णय मान्नु पर्छ भनेर सत्ताको खेलमा अहिले उनी सिंहको पक्षमा खरो ढंगले उत्रेकी छन् । गण्डकी प्रदेशको आन्तरिक द्वन्द्वमा महामन्त्री सिंह पक्षमा खरो उत्रिनुमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकार बनेमा मन्त्री बन्ने रणनीतिमा उनी रहेको जनमोर्चा निकट स्रोतले बताएको छ ।

अनेक रुपमध्ये उनको भित्री कथा भने गजबकै छ । गण्डकी प्रदेश मुख्यमन्त्री पक्षका ब्यक्तिहरुसँग पनि विभिन्न बिषयमा ‘वार्गेनिङ‘मा गरेको स्रोतले बतायो । कतिपय ठाउँमा पियारी नै सहभागी भइन भने कतिपयसँग श्रीमान आश्रमलाई प्रयोग गरिन ।

पियारीका श्रीमान आश्रम पोखरा स्थित अतिथि रिसोर्टमा २ साता बसेर सत्तापक्षसँग पैसाको बार्गेनिङ गरेका थिए । ‘राजनीतिक जीवनबाट बाहिरिएपछि हामी बाँच्नु पर्छ । २ करोड जति जोहो गरिदिनुस्, हामी सहयोग गर्छौं‘, पियारीका श्रीमान आश्रमले वार्गेनिङ गरेको रेकर्ड सुनाउँदै स्रोतले भन्यो ।

तर, सत्ता पक्षले राजनीतिक सहकार्य हुने पैसामा सांसद किनबेच जस्तो घिणृत काम हुन नसक्ने जवाफ दिएपछि पियारी एकाएक कांग्रेस–माओवादी मोर्चामा वरिष्ठहरु भन्दा बढि चर्को रुपमा उत्रिइन । ‘विरामी भएको मान्छेलाई करडौंमा विक्री भयो भन्ने, कांग्रेसको गाडी चढेर हाम्रो सांसद खोज्न जाने, म संसदीय दलको नेतालाई नसोधी सांसद बेपत्ता भए भनेर निवदेन दिने काममा मेरो सहमति छैन‘, संसदीय दलका नेता कृष्ण थापाले भने ।

सत्ता पक्षसँग वार्गेनिङ गरे अनुसार पैसा नपाएपछि मन्त्री बन्ने धुनमा कांग्रेस–माओवादी गठबन्धनमा संसदीय दलका नेतालाई समेत उछिनेर पियारी गठबन्धनको ‘प्यारो‘ पात्र बनेकी छिन् । प्रत्यक्ष निर्वाचित थापा र शाहीले केन्द्रको निर्णय बमोजिम प्रदेश सरकार विरुद्ध मतदान गर्ने बताए पनि जिल्लाका सबै कार्यकर्ता विरुद्धमा रहेको खुलेआम भनिराखेका छन् ।

गण्डकी प्रदेशका प्रभाशाली नेता तथा बागलुङका अध्यक्ष अमर थापाले समेत खुले आम कांग्रेसलाई सहयोग गरे फिल्डमा काम गर्न नसकिने बताउँदै आएका छन् । तर, समानुपातिकबाट प्रदेश सांसद बनेकी पियारी महामन्त्री सिंहको आर्शिवादमा सत्ता गिराउने खेलमा सहभागी बनेकी छिन् ।

यद्यपी दैनिकीमा समाचार प्रकाशन भएपछि सांसद थापा र हेमराज आश्रमले यस विषयको खण्डन गर्नुभएको छ ।  उहाँहरूले दैनिकीलाइ लेखेको पत्र यहाँ तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आईतवार १५:१५