६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

पर्यटकीय नगरी बन्दीपुरमा तनहुँबाहिरका पर्यटकलाई प्रवेश निषेध


१७ वैशाख, तनहुँ । पर्यटकीय नगरी बन्दीपुरका मुख्य बजारमा आगन्तुक पर्यटकलाई प्रवेश निषेध गरिएको छ । कोभिड–१९ को जोखिम बढेपछि गाउँपालिकाले जिल्लाभन्दा बाहिरी ठाउँबाट आउने पर्यटकलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङको अध्यक्षतामा आज बसेको बैठकले घुम्न आउने पर्यटकलाई शुक्रबारदेखि मुख्य बजारमा प्रवेश निषेधको निर्णय गरेको हो । “कोरोनाको दोस्रो लहरको जोखिम बढेकाले न्यूनीकरणका लागि यो निर्णय गरिएको हो,” उहाँले भन्नुभयो । गाउँपालिकाले शुक्रबार नै बसपार्क नजिक स्वास्थ्य सहायता कक्ष स्थापना गर्नेछ ।

बन्दीपुरमा देशका विभिन्न जिल्लाबाट पर्यटक भ्रमणका लागि आउने गरेका छन् । “बसपार्कमा परिचयपत्र हेरेर मात्रै प्रवेशको व्यवस्था मिलाइने छ, तनहुँभित्रकै व्यक्तिहरुलाई प्रवेश हुन्छ, बाहिरबाट आएकाहरुलाई त्यहीँबाटै फर्काउँ छौँ,” उहाँले भन्नुभयो । यसकार्यका लागि सहयोग गर्न यातायात व्यवसायी, उद्योग वाणिज्य सङ्घ, पर्यटन विकास समिति, टोल विकास संस्था, वडास्तरीय विपद् व्यवस्थापन समितिलगायतलाई आग्रह गरिएको छ ।

विदेशबाट आउने बन्दीपुरवासीलाई भने क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ । त्यसको व्यवस्थापन सम्बन्धित वडा कार्यालयले गर्नेछ । गाउँपालिकाले कोभिड–१९ को जोखिम कम गर्न मास्क अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।

बैंक चार घण्टामात्र खुल्ने

कोभिड–१९ को दोस्रो लहरको प्रकोप बढ्दै गएपछि तनहुँको सदरमुकाम दमौलीमा सञ्चालित बैंक तथा वित्तीय संस्था दिनको चार घण्टामात्रै खुल्ने भएका छन् । कोरोनाको जोखिम न्यूनीकरण गर्न व्यास नगरपालिकाले दमौलीमा रहेका बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि २ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग आज सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । व्यास नगरपालिका पनि कोभिडको उच्च जोखिममा रहेकाले स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड कडाइका साथ पालना गर्दै बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्रै बैंक तथा वित्तीय संस्था खुल्ला रहने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

कोभिड सङ्क्रमणको संवेदनशीलतालाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थामा अनावश्यक भीडभाड नगर्न साथै डिजिटल बैंकिङ प्रणालीको अधिकतम उपयोग गर्न सर्वसाधारणलाई नगरपालिकाले आग्रह गरेको छ । रासस

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार ०९:०१