१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सबै अस्पताललाई बहिरङ्ग सेवा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


१४ वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलवार सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ती सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सञ्चालन राख्न भनिएको जानकारी दिए । मंगलवार एकैदिन ४ हजार ५२४ जना कोरोना संक्रमित भएको र १८ जनाको निधन भएको छ ।उनले कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्न समेत निर्देशन दिएको बताए । मन्त्रालयले कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको आलोपालो निर्धारण गरी सेवा व्यवस्थापन गर्न भनिएको छ ।

मन्त्रालयले अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने र रिक्त दरबन्दी भए ६ महिना करारमा लिन समेत भनिएको छ । मन्त्रालयले सघन उपचार कक्ष (आईसीयू) तथा आकस्मिक उपचारसम्बन्धी औजार र अक्सिजनको व्यवस्थापन गर्न समेत सबै अस्पताललाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार १८:२७