१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पृथ्वीनारायण शाहको योगदानसँग जोडेर यसरी गरिदैँछ नुवाकोटको पर्यटन प्रवर्द्धन


–प्रकाश सिलवाल

१४ वैशाख, चिम्टेश्वर । पृथ्वीनारायण शाहको एकीकरण अभियान र उहाँसँग जोडिएका नुवाकोट दरबार, देवीघाट र चिम्टेश्वरको संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ‘नेपाल एकीकरण अभियान आरम्भ क्षेत्र विकास समिति’ गठन हुने भएको छ । ऐतिहासिक नुवाकोट दरबार, राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायणको समाधिस्थल देवीघाट र पर्यटकीयस्थल चिम्टेश्वरलाई धार्मिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण तथा संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ‘विकास समिति ऐन, २०१३’ को दफा ३ बमोजिम उक्त विकास समिति गठनको तयारी भएको हो ।

चिम्टेश्वर क्षेत्रमा नेकपा एमाले बेलकोटगढी नगरकमिटीका अध्यक्ष नवराज तिवारी (बीचामा) नगरकमिटीका सदस्यहरू सन्तमान तामाङ, प्रकाश सापकोटा, अनेरास्ववियू नुवाकोटका सचिव प्रशान्तजंग पाण्डे र पत्रकारहरू ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले समितिको गठन आदेशको मस्यौदा तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ । यसले शाहका योगदानप्रति राज्यका तर्फबाट सम्मानका साथै पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने संस्कृतिमन्त्री भानुभक्त ढकालले बताउनुभएको छ । एकीकरण अभियान र नुवाकोटको पर्यटन प्रवद्र्धनका लागि यस प्रकारको समिति गठन हुन लागेको यो पहिलो अवसर हो ।

२०७७ पुस १३ गते नुवाकोट दरबार क्षेत्रको अवलोकनको क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ढयन मन्त्री भानु भक्त ढकाल ज्यू ।

उक्त समितिले विदुर नगरपालिका–२ स्थित नुवाकोट दरबार क्षेत्र, भैरवी मन्दिर परिसर, शाहको समाधिस्थल विदुर– ५ देवीघाट, बेलकोटगढी नगरपालिका वडा नं १,२,३,४,९ र ११ मा पर्ने चिम्टेश्वर क्षेत्र तथा नुवाकोटका नौमध्ये छ कोट (प्यासकोट, कालिकाकोट, सिमलकोट, भैरुमकोट, मालकोट र बेलकोट) क्षेत्रको संरक्षण तथा संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने जिम्मेवारी पाउनेछ । गठन आदेश जारी भएपछि समितिलाई वार्षिक रु ५० लाख पूँजीगत र रु ३० लाख चालु गरी रु ८५ लाख बजेट दिन अर्थ मन्त्रालयले सहमति दिएको छ ।

गत पुस १३ गते नुवाकोट दरबार क्षेत्रको निरीक्षणका क्रममा मन्त्री ढकालले समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उक्त क्षेत्रको पूर्वमा नुवाकोटको तादी र पञ्चकन्या गाउँपालिका, पश्चिममा तारकेश्वर र म्यागङ गाउँपालिका, उत्तरमा रसुवाको उत्तरगया गाउँपालिका, दक्षिणमा नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिका पर्छन् । नेपाल एकीकरणको उद्देश्यले सञ्चालित लडाइँका क्रममा शाहले विसं १८०१ असोज १५ गते काठमाडौँसँग जोडिएको नुवाकोटमाथि विजय हासिल गर्नुभएको थियो ।

समितिले एकीकरण अभियानका क्रममा प्रयोग भएको क्षेत्रको विकाससम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने–गराउने, सो अभियान र शाहसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्बन्धित प्राचीन धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलको संरक्षण, संवर्धन र पुनःनिर्माण गर्नेछ । यस्तै देवीघाट क्षेत्रमा रहेका प्राचीन धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने, शाहसँग सम्बन्धित प्राचीन सामग्री सङ्कलन र संरक्षण गर्ने, एकीकरण अभियान क्षेत्रको प्राकृतिक सम्पदा र वातावरणको संरक्षण तथा संवर्धन गर्ने, एकीकरण अभियान क्षेत्रमा रहेका प्राचीन धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थललाई व्यवस्थित गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यक्षेत्र समितिको हुनेछ । समितिमा सङ्घीय सरकारले नियुक्त गर्ने अध्यक्ष, प्रतिस्पर्धाका आधारमा नियुक्त हुने कार्यकारी निर्देशक, सम्बन्धित क्षेत्रका विज्ञसहितका मनोनीत र सम्बन्धित पालिकाका प्रमुखसमेत सदस्य रहने प्रस्ताव गरिएको छ ।

समितिले एकीकरण अभियान क्षेत्रमा समयसमयमा भाषिक, ऐतिहासिक, धार्मिक, शैक्षिक तथा सांस्कृतिक महत्वका सभा, सम्मेलन, गोष्ठी वा प्रदर्शनी आयोजना गर्ने, एकीकरण अभियानसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाबीच आवश्यक समन्वय गराउने र देवीघाट क्षेत्रलाई शाहको पवित्र समाधिस्थल (राजघाट) का रुपमा विकास गर्ने जिम्मेवारी पनि पाउने जनाइएको छ ।

एकीकरण अभियान क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय तहको लगानीमा दृश्वावलोकनस्तम्भ र मदन भण्डारी उद्यान आदि पूर्वाधार विकास हुनेछन् । विसं २०७० वैशाख १ र २ गते नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको आयोजनामाा नुवाकोटको रानीपौवाबाट चिम्टेश्वर हुँदै देवीघाटसम्मको पदयात्रा गरिएपछि यस क्षेत्रको पर्यटकीय महत्व प्रकाशमा आउन थालेको हो । उक्त पदयात्राका क्रममा वर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाललगायत सहभागी भई चिम्टेश्वर मन्दिरमा एक रात विश्राम गर्नुभएको थियो ।

नुवाकोट आक्रमणको पहिलो किल्लाका रुपमा चिनिएको चिम्टेश्वर मन्दिरमा नौ वर्षदेखि पूजाआजा सञ्चालन गर्दै आएकी टोपकुमारी पुडासैनीले सतीदेवीको कुनै अङ्ग पतन भई शिवलिङ्ग उत्पत्ति भएकाले सो स्थलको नाम चिम्टेश्वर रहन गएको श्रीस्वस्थानी कथामा उल्लेख भएको बताउनुभयो । अर्काे किवंदन्तीअनुसार महादेव समुद्र मन्थनपछि पिइएको कालकूट विषको डाह शान्त गर्न उत्तरापन्थ लाग्दा थकाइ लागेपछि विश्रामका लागि सो स्थलमा बसेर हिँड्दा चिम्टा हराएकाले पनि सो स्थानको नाम चिम्टेश्वर रहेको मानिन्छ ।

चिम्टेश्वर क्षेत्रको अवलकोनका क्रममा महत्वपूर्ण व्यवसायिक सम्मानबाट सम्मानित गोपी कडेँल (सेतोकोटमा) र नेकपा एमालेका स्थानीय नेताहरू साथै पत्रकारहरू ।

चिम्टेश्वरमा बालाचर्तुदशी, हरितालिका, शिवरात्रि र वैकुण्ठ चतुर्दशीमा विशेष पूजा र मेला लाग्छ । मन्दिर व्यवस्थापनका लागि हालसम्म सरकारी संयन्त्र नभएकाले आयव्ययको व्यवस्थित हिसाब देखिँदैन । यहाँ चढाइने भेटी केटाकेटी वा जोसुकैले टिप्ने र बचेको पुजारीले लिने गरेको पाइएको छ ।

बेलकोटगढी नगरपालिका–१ का वडा सदस्य प्रकाश सापकोटाले हालै सरकार र पालिकाको रु तीन करोड ७५ लाख लगानीमा मन्दिरमा आउने भक्तजनका लागि सिँढी निर्माण र केन्द्र सरकारले विकास समिति गठन गर्न आरम्भ गर्नु सकारात्मक भएको बताउनुभयो । पासाङल्हामु मार्गको ‘३४ किलो’ भनिने सिस्नेरीबाट करीब ११ किलोमिटरको कच्ची मोटरबाटो पार गरेपछि पुग्न सकिने चिम्टेश्वरबाट १३ हिमाल र १५ जिल्ला देख्न सकिने भएकाले यसलाई पर्यटकीय क्षेत्र मानिएको छ ।

वनभोज तथा मनोरञ्जनका कार्यक्रम आयोजना गराउन यो उपयुक्त र रमणीय स्थान रहेको छ । नेकपा (एमाले) बेलकोटगढी नगरपालिकाका अध्यक्ष नवराज तिवारीले विसं २०५२ मा आफ्नै दलको सरकार हुँदा ३४ किलोबाट सडक बाटो निर्माण भएको र हाल एमालेकै सरकारका पालामा चिम्टेश्वरको विकास र नेपाल एकीकरण अभियानको संवद्र्धनका लागि विशेष पहल हुन लागेको जनाउनुभयो ।

‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तकका लेखक श्रीराम श्रेष्ठले क्षेत्र विकास समिति गठनको पहल सकारात्मक भएको जनाउँदै एकीकरण आरम्भ क्षेत्रमा पर्यटकीय विकास र ऐतिहासिकताको संरक्षण आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ, नुवाकोटका अध्यक्ष गोपीप्रसाद कँडेलले विकास समिति गठन भएपछि जिल्लाको थप पर्यटकीय विकास र संवद्र्धन भई व्यवसाय र रोजगारीमा समेत वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो ।

महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मानप्राप्त कँडेलले शाहले नुवाकोटबाट एकीकरणको अभियान शुरु गरेर आधुनिक र सुन्दर नेपाल निर्माण गरे झैँ अहिलेको पुस्ताले विकास र समृद्धिको अभियान नुवाकोटबाटै शुरु गरी समृद्ध नेपाल निर्माणमा योगदान गर्न सक्नुपर्ने बताउनुभयो । विसं १७७९ पुस २७ गते गोरखामा जन्मनुभएका राजा शाहको विसं १८३१ माघ १ गते नुवाकोट देवीघाटमा निधन भएको थियो । हेलिप्याडसहितको पार्क निर्णमाको तयारी समेत सोही स्थानमा भैरहेको छ । यस्तो बन्ने अनुमान गरिएको छ। रासस

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार १३:०४