७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

टी–२० क्रिकेटमा सय खेल खेल्ने सन्दीप पहिलो खेलाडी


९ वैशाख, काठमाडाैँ । लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उहाँले उक्त राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिनुभयो । उहाँले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिनुभएको छ ।

हाल जारी त्रिदेशीय सिरिजमा उहाँले चार खेलमा ११ विकेट लिइसक्नुभएको छ । नेदरल्याण्ड्ससँंग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसियासितको खेलमा दुई, नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा चार तथा आजको खेलमा तीन विकेट लिनुभएको हो । लामिछानेले नेपालका लागि टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमानसमेत बनाउनुभएको छ ।

उहाँले २५ टी–२० खेलमा ४५ विकेट लिनुभएको छ । यसअघि सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान करण केसीका नाममा थियो । उहाँले ३२ खेलमा ४१ विकेट लिनुभएको छ । टी–२० मा लामिछानेले ७५ वटा टी–२० खेल भने विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेल्नुभएको हो । टी–२० अन्तरराष्ट्रिय खेलमा उहाँले २४ खेल नेपाली राष्ट्रिय टिमबाट तथा एउटा खेल विश्व–११ टोलीबाट खेल्नुभएको हो । सन् २०१८ मा वेस्ट इन्डिजमा भएको टी–२० अन्तरराष्ट्रिय खेलमा उहाँले डेब्यु गर्नुभएको हो । लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा १०० विकेट लिने पनि पहिलो खेलाडी हुनुहुन्छ ।

डेब्यु खेलमै कमलसिंह ऐरीको तीन विकेट

नेपालका कमलसिंह ऐरीले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गर्नुभएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको मलेसियाविरुद्धको खेलमा डेब्यु गर्दै २० वर्षीय ऐरीले तीन विकेट लिनुभयो ।

त्रिदेशीय सिरिजअन्तर्गत आजको खेलमा उहाँले तीन दशमलव एक ओभर बलिङ गर्दै १६ रन मात्र खर्चिनुभयो । ऐरी अविनाश बोहराको स्थानमा टोलीमा समावेश हुनुभएको हो । उहाँले आफ्नो दोस्रो ओभरमा मलेसियामा शार्भिन मुनिएन्डीलाई तथा वीरनदीप सिंहलाई पेभेलियन फर्काउनुभयो भने तेस्रो ओभरको पहिलो बलमा मोहम्मद वाकिफलाई कुशल मल्लद्वारा क्याचआउट गराउनुभएको थियो ।

महेन्द्रनगर घर भएका ऐरीले गत वर्ष नेपालमै सम्पन्न विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गर्नुभएको थियो । उक्त खेलमा उहाँ विकेटविहीन रहनुभयो ।

करण केसी विश्व रेकर्ड बनाउनबाट चुके

यहाँ जारी त्रिदेशीय टी–२० सिरिजमा नेपाली बलर करण केसी विश्व रेकर्ड बनाउनबाट चुक्नुभयो । मलेसियाविरुद्धको खेलमा उहाँले उत्कृष्ट ब्याटिङ गर्नुभयो । आठौँ नम्बरमा ब्याटिङका लागि मैदानमा प्रवेश गर्नुभएका केसीले १३ बलमा ४५ रन बनाउनुभयो । यस क्रममा उहाँले सात छक्का हान्नुभयो ।

केसीले ११ बलमा ४४ रन बनाउनुभएको थियो । उहाँले १२औँ बलमा छक्का प्रहार गर्न सक्नुभएको भए सबैभन्दा छिटो अद्र्धशतकको विश्व रेकर्ड बराबरी गर्नुहुन्थ्यो । तर केसीले १२औँ बलमा एक रन मात्र बनाउनसक्नुभयो र विश्व कीर्तिमान बनाउनबाट वञ्चित रहनुभयो । हाल १२ बलमा अद्र्धशतक प्रहार गर्ने विश्व कीर्तिमान भारतीय क्रिकेट खेलाडी युवराज सिंहको नाममा छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार २२:५८