१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपाली कांग्रेसको क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति वैशाख १५


६ वैशाख, काठमाडाैँ । कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ यही वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरिएको छ । सो राति १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द गरिने सोमबारको केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।

क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी जिल्लाको प्रतिवेदन यही वैशाख १७ गते साँझ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नुपर्ने बैठकले निर्णय गरेको छ । सफ्ट्वेयरमा ‘इन्ट्री’ भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको वेबसाइटमा सार्वजनिक गर्ने व्यवस्था गरिने पार्टी कार्यालयले जनाएको छ ।

अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका सदस्यहरुको क्रियाशील सदस्यता फारम यही वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने, त्यस्ता फाराम सबै प्रक्रिया पूरा गरी जिल्ला कार्यसमितिले वैशाख मसान्तभित्र केन्द्रमा पु¥याइसक्नुपर्ने र त्यसको कम्प्युटर ‘इन्ट्री’ क्रियाशील सदस्यता छानबिन समितिले नै केन्द्रमा गर्ने गरी व्यवस्था गरिने छ ।

सिन्धुपाल्चोक र सप्तरीमा हालसम्म क्रियाशील सदस्यताको प्रक्रिया शुरु नभएको एवं बारा र सोलुखुम्बुमा केही समयअघि मात्रै प्रक्रिया शुरु भएको हुनाले ती जिल्लाका हकमा वैशाख मसान्तभित्र जिल्लाबाट केन्द्रको सफ्टवेयरमा इन्ट्री गरिसक्नुपर्ने बैठकले निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, आनन्दप्रसाद ढुङ्गाना, अजयकुमार चौरसिया र कर्णबहादुर बुढाले आफ्नो धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार २२:००