१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन सरकारलाई संसदीय समितिको निर्देशन


३ वैशाख, काठमाडौँ । संसदीय समितिले बालबालिकाहरु कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सञ्‍चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।  राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि हुँदा पनि विद्यालय सञ्चालकहरूले  विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेका हुन ।

समितिले शिक्षण सिकाइलाई वैकल्पिक माध्यममार्फत पठनपाठन गर्न गराउन निर्देशन दिएको छ । समितिले स्वास्थ्य मन्त्रालयको विज्ञप्ति तथा विज्ञहरुको सुझावलाई ध्यानमा राखेर अत्याधिक जोखिमको वर्गका बालबालिका तथा युवाहरुको जीवनरक्षाका लागि तत्काल भौतिक उपस्थितिमा हुने सिकाई बन्द गरि अनलाइन वा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन आग्रह गरेको छ । समिति सदस्य रमेशजंग रायमाझीले प्याब्सन एन-प्याब्सनहरुको आर्थिक चलखेलमा शिक्षा मन्त्रालय लागेको र निर्बाध स्कुल सञ्चालन गर्न दिएको आरोप लगाए । उनले ललितपुरस्थित डिएभी स्कुलले विद्यार्थीमा कोरोना संक्रमण पुष्टि हुँदा पनि विद्यालय सञ्चालन गरेर थप जोखिम बढाएको भन्दै त्यस्ता स्कुलको अनुगमन गरि कारबाही गर्नुपर्ने धारणा राखेका छन् । ‘हिजोमात्रै डिएभी स्कुलमा ३ जना विद्यार्थीमा कोभिड संक्रमण देखियो । समितिका अर्का सदस्य दिनानाथ शर्माले भारतमा कोभिड १९ संक्रमणको अवस्था भयावह स्थितिमा रहेको र खुल्ला सिमानाका कारण त्यसको असर नेपालमा पनि पर्ने भएकाले स्वास्थ्य सतर्कताका मापदण्डलाई कडाइका साथ पालना गर्न गराउनका लागि नेपाल सरकारलाई निर्देशन दिनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार १६:३३