१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

निःशुल्क स्वास्थ्य बीमाले ज्येष्ठ नागरिकमा खुसियाली


३० चैत, गलकोट । बागलुङ नगरपालिका–४ पाखाथरकी ७१ वर्षीया हरिकला सापकोटालले निःशुल्क स्वास्थ्य बीमा दर्ता गराएको दुई वर्ष पुग्यो । सापकोटाले बीमा गराएपछि धौलागिरि अस्पताल बागलुङबाट नियमित ग्याष्ट्रिकको औषधि लिएर सेवन गर्दै आउनुभएको छ ।

उहाँले घरमै आएका दर्ता सहयोगीमार्फत निःशुल्क स्वास्थ्य बीमा गराएपछि निःशुल्करुपमा अस्पतालबाट सेवा लिइरहेको बताउनुहुन्छ । ज्येष्ठ नागरिकका लागि सरकारको निःशुल्क बीमाको नीतिले आफूजस्ता ज्येष्ठ नागरिक खुसी भएको हरिकलाको भनाइ छ ।

“अस्पतालमा पुगेपछि कुनै पैसा लाग्दैन, हामीजस्ता नियमित औषधि सेवन गर्ने ज्येष्ठ नागरिकलाई राम्रो भएको छ”, सापकोटाले भन्नुभयो, “घरमै बीमा गराउन आए, उनीहरुले दिएको परिचयपत्रका आधारमा अस्पतालमा गएपछि निःशुल्क सेवा पाउँदा हामी हर्षित छौँ ।” सापकोटा मात्रै हैन, बागलुङ बजारको उपल्लाचौरका भीमबहादुर क्षत्रीले नियमितरुपमा मधुमेह र रक्तचापको औषधि निःशुल्करुपमा सेवन गर्दै आउनुभएको छ । उहाँले चार वर्षदेखि बीमा गर्दै आएकोमा पछिल्लो दुई वर्षयता निःशुल्क बीमा गर्दै आउनुभएको छ । उहाँले पैसा तिरेर गर्दै आएको बीमाले सहज भइरहेको बेला सरकारले पुनः हामीजस्ता ज्येष्ठ नागरिकलाई बीमा गराएर उपचारमा सजिलो बनाएको क्षत्रीको भनाइ छ ।

बागलुङ नगरपालिका–३ गुठीका ७९ वर्षीया चन्द्रकली कार्कीले मधुमेह, उच्च रक्तचापलगायतका नियमित औषधि बीमाबाटै पाउनुहुन्छ । उहाँले अधिकांश औषधि बीमाबाट र बीमाभित्र नपर्ने औषधि नगद तिरेर खरिद गर्दै आउनुभएको छ । “हामीजस्ता दैनिक पाँच÷छ थरीका औषधि खाने बिरामीलाई बीमा कार्यक्रमले ठूलो राहत मिलेको छ”, कार्कीले भन्नुभयो, “सबैले स्वास्थ्य बीमा गरेर सेवा लिन सके राम्रो हुन्थ्यो, सरकारले बुझाउन सक्नुपर्दछ ।”

हाल बागलुङमा ६५ हजार ७४० ले स्वास्थ्य बीमा गराएका छन् । बीमा गराउनेमध्ये ३० हजार ८८२ पुरुष र ३४ हजार ८५८ महिला रहेको स्वास्थ्य बीमा बोर्ड बागलुङका दर्ता अधिकारी नारायण शर्माले बताउनुभयो । परिवारको हेलामा परेर उपचार नपाएका ज्येष्ठ नागरिकलाई समेत निःशुल्क स्वास्थ्य बीमाले सहज गराएको र उपचारको पहुँचमा पु¥याउँदा ज्येष्ठ नागरिक खुसी भएको शर्माको भनाइ छ । सरकारले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई २०७६ वैशाखदेखि निःशुल्क स्वास्थ्य बीमा सेवा शुरु गरेको थियो ।

नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम बागलुङमा विसं २०७३ असारदेखि पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको थियो । कोरोनाका कारण मानिसको स्वास्थ्यप्रतिको चासोसमेत बढ्दै गएका कारण स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको सङ्ख्या बढ्ने स्वास्थ्य बीमा बोर्डको अपेक्षा छ । सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहँुच पुगोस् भन्ने हेतुका साथ अगाडि सारेको स्वास्थ्य बीमा कार्यक्रमले जिल्लामा आर्थिकरूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

कमै मात्रामा स्वास्थ्य उपचारका लागि बागलुङ जिल्लामा रहेको धौलागिरि अस्पतालमा आउने बिरामी स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्यामा तेब्बरले वृद्धि भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्रबि पोखरेलले बताउनुभयो ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट बहिरंग सेवा, आकस्मिक, प्रयोगशाला, सामान्य शल्यक्रियालगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको झण्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य बीमाका लागि बागलुङका ७० जना दर्ता सहयोगीले घर घरमा पुगेर बीमा दर्ता गर्दै आएका छन् । निःशुल्क बाहेकको हकमा पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार ०८:२३