दैनिकी

  • २९ चैत्र २०७७, आईतवार १२:२९

खै अचेल उसलाई के भएछ ?

-अर्जुन पाण्डे 

निर्माणको कुरा गर्यो कि नमज्जासँग झस्किन्छ
विकासको कुरा सुन्यो कि सातो जानेगरि तर्सिन्छ
सिलान्यास भन्ने सुन्यो कि उ बरबराउँछ
कतै उद्घाटन त उ देख्नै सक्तैन ।
गाउँका स्कूलमा पक्कि छाना, लागेको
कुलो नहरमा पानी बगेको, चिल्लो सडकमा गाडी कुदेको
अस्पताल, आवास भवन बनेको, उसलाइ पटक्कै मन पर्दैन ।
उहिले त रामै्र मान्छे हो,
खै अचेल उसलाइ के भएछ ।

रानी पोखरीमा पानी भरियो, सडक कालो पत्रे गरियो
पक्कि, झोलुंगे पुल बने, आफ्नै आँगनमा पुनः धरहरा ठडियो
कुना कन्दराबाट सारा तुइन हटे,
उसलाइ किन्चित पत्यार लाग्दैन ।
भुकम्पले ढलेका लाखौं घरहरु पुनः दुरुस्त भए
नरमाइलो मान्छ, उ खिन्न छ, उदास छ ।
लोडसेडिंग हटेको रात उसलाइ औडाहा भो, सुत्नै सकेन ।
यो देशमा रेल ? सुन्ने वित्तकै उ हाँस्थ्यो
नभन्दै देशमा रेल आयो, उसको अन्दाजले फेरी फेल खायो ।
उ फन फन रिंछ, मुमिुरिन्छ ।
उहिले त रामै्र मान्छे हो,

अचेल उसलाइ के भएछ ।

सुरुंग खनिँदै छ रे, सुनेर उसका आँखा राता हुन्छन् ।
पाइपबाट पेटोल ? हेर्न पर्ला भनि उ दुइ हातले आँखा छोप्छ ।
कति ठूला एयरपोर्ट ? देखेर उ अत्तालिन्छ
पाइपबाट पेटोल ? स्विच थिचेर उद्घाटन ? असंभव, कसरी भयो ?
उसको आश्चर्यले आकास छोयो ।
काठमाडौंमा मेलम्चीको पानी झरेको दिन त उ
छाति पटी पिटी रोयो ।
वल्लो घर पल्लो घर सबै छक्क छन् ।
उहिले त रामै्र मान्छे हो,
खै उसलाइ अचेल के भएछ ।

अजिबको कुरा गर्छ उ
खेतमा पानी नलागोस, बारीमा ड्यांग नबनोस भन्छ, ।
मेहनतको ड्यांगमा आलु, पिँडालु नफलोस भन्छ ।
उ दुबोमा घामले सित नटल्कियोस भन्छ ।
समृद्धिको कान्तिले ओठमा मुस्कान नझल्कियोस भन्छ ।
कोही हाँसेको देखे उ दाह्रा किट्छ, नाचेको देखे आँखा तर्छ ।
उ मिर्मिरे विहानीमा विगुल बज्नु हुन्न भन्छ,
एउटै सुरमा मेची काली मागल रच्नु हुन्न भन्छ ।
हैन के भयो हँ , अलि अघि सम्म त ठीकै थियो उ
उहिले त राम्रै मान्छे हो,
खै अचेल उसलाइ के भएछ ।

-बुढानिलकण्ठ, काठमाडौं

प्रकाशित मिति: २९ चैत्र २०७७, आईतवार १२:२९