७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पालिका अध्यक्षले न आफू काम गरे न त वडा अध्यक्षहरूलाई काम गर्न दिए (अनुभूति)


-शिव न्याैपाने

करिब बीस बर्ष जनप्रतिनिधि विहिन भएका स्थानीय निकायहरुमा विकास निर्माणका कार्यले गति लिन सकिरहेको थिएन । मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै स्थानीय निकायहरूको संरचनामा पनि परिवर्तन भयो । गाउँ बिकास समितिको स्थानीय संरचनालाई परिवर्तन गरि गाउँपालिका र नगरपालिका स्तरिय स्थानीय स्वायत्त सरकारको राजनैतिक प्रशासनिक संरचना निर्माण गरियो र गाबिसहरुलाइ गाउँपालिकाको वडा बनाइए ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचानपछि जनप्रतिनिधिहरु चुनिए । जनमतको कदर गर्ने अठोटका साथ जनप्रतिनिधिहरुले स्थानीय निकायलाई समृद बनाउने काममा लागीपरिरहेका थिए । दुई दशकदेखि कर्मचारीलेमात्र सन्चालन गरेका स्थानीय निकायहरूमा समस्याहरु चाङमाथी चाङ लागेर बसिरहेका थिए।

समस्याका चाङ्हरु छिचोल्दै जनप्रतिनिधि विकास निर्माण लगायतका कार्य गर्न जुटिरहेका थिए । कार्यसम्पादनको शिलशिलामा केही स्थानीय जनप्रतिनिधिहरु पदभ्रष्ट भएर निस्किए । कोही चेलीबेटी बेचबिखनमा लागे । कोही भ्रष्टाचारको दलदलमा भासिए । कतिपय विभिन्न तस्करीमा संलग्न भए । कतिपय बलात्कार जस्तो जघन्य अपराधमा समेत संलग्न भए ।  गाउँ बनाउछु भन्दै कसम खाए तर कर्मका कारण उनीहरू आफैँ सिद्दिए ।

यसका बाबजुद पनि केहि स्थानीय जनप्रतिनिधि यस्ता पनि छ्न जो अहोरात्र जनताका र गाउँको बिकास कार्यमा लागीरहेको हुन्छन् । आफू निर्वाचित भएको ३ बर्षमा गाउँबिकासको लागि आधार खडा गर्न उनीहरु सफल भएका छ्न । गर्यो भने हुन्छ भन्ने सन्देश उनीहरुले दिएका छ्न ।

अहोरात्र जनसेवामा समर्पित हुने मध्येका एक जनप्रतिनिधिमा पर्छन् लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ६ रामेछापमा निर्वाचित वडाध्यक्ष शिव न्यौपाने । गाउँको विकासमा उहाँहरूले गरेको काम र अनुभुती हामीले यहाँ समेटेका छाैँ ।

०७४ को बाढिपहिरोले खिम्तिलाइ तहसनहस बनाएको थियो । यस बाढिपहिरोले खिम्तिको संरचनामा ठूलो परिवर्तन ल्यायो । कृषि योग्य जमीन, पशुपङ्छी मात्र नभएर मानवीय क्षति समेत हुन पुगेको थियो । ७० सालको र ७२ सालको प्राकृतिक प्रकोपको कारण भएको क्षतिको सामधान हुन नपाउदै ७४ को प्राकृतिक प्रकोपको सामना खिम्तीले गर्यो । यस्तो प्रतिकुल अवस्थामा म वडामा निर्वाचित भएको थिए ।

पक्कैपनी यस्तो अवस्थामा काम गर्न सहज थिएन नै । तै पनि मैले हिम्मत नहारी जनताको सेवामा लागिरहेको थिए। हामी निर्वाचित भएको ३ बर्ष बितिसक्दा हामीले देखिनेगरी केही काम गरेका छौ। निर्वाचनमा गरेको प्रतिबद्धता अनुरुपका काम भैसकेको छन केही हुँदै छ्न।

हामीले टोल टोलमा बाटो पुर्याउछौ भनेका थियौ प्रायः सबै टोलमा कच्ची भएपनि बाटो पुर्याईसकेका छौ । खालीटार-नाङ्थली सडक, दारे गौडा-रातमाटा सडक, गिद्दे-थामडाडा सडक, पुस्पलाल राजमार्ग हुँदै दोभान जोड्ने सडक, ३०० टोलमा बाटो जोड्ने काम, खालिटार-कालिमाटी टोल, कटुन्जे-थामडाडा, खालिटार-थामडाडा सडक हामीले निर्माण गरिसकेको छौँ ।

खानेपानीको समस्या समाधान हुन लागेको छ । ज्यामिरे सिंचाइ आयोजनाको लागि प्रदेश सरकारबाट आर्थिक बर्ष ०७७/०७८ काे लागि ७० लाख रुपैँया पार्न हामी सफल भएका छौँ । अन्य साना सिंचाइ आयोजनाका लागि ३० लाख रुपैयाँ प्रदेशको रातो किताबमा लेखिएको छ । तीस लाख हामी ३ वटा साना सिंचाइ आयोजनामा खर्च गर्छौ । खानेपानी समस्या समाधान गर्नको लागी गिद्दे खानेपानी आयोजनाका लागि ३५ लाख आएको छ । यो योजना थामडाडादेखि भदौरेसम्मको योजना हो । अन्य ३ वोटा योजना छ्न । ती योजना सम्पन्न भएपछि खानेपानीको समस्या समाप्त हुनेछ ।

समृद्ध गाउँपालिका बनाउने चुनावी घोषणापत्रअनुरुप गाउँपालिका अध्यक्षले उज्यालो लिखु बनाउने योजनाका साथ विभिन्न हाइड्रोपावरको परिकल्पना गरियो ।योजना बने तर पछि अध्यक्षले आफुले पनि गर्नु भएन र हामिलाइ पनि गर्न दिनु भएन ।

गाउँपालिका को ०७७/०७८ को बजेट कार्यबाहक अध्यक्ष दिपशिखा दाहालको नेतृत्वमा ल्याएका छौँ । गाउँपालिका स्तरिय हस्पिटलको लागि २ करोड छुट्टाएका छौ । गाउँ पालिकाको भवनको लागि दुई करोड र बजारको बाटोको लागि ८० लाख छुट्टाएका छौ । गाउँपालिका का सात जना वडा अध्यक्ष आ आफ्नो वडा समृद्ध बनाउन लागिपर्नु भएको छ।

मेरो वडामा हामीले आयआर्जन कसरी गर्न सकिन्छ भन्ने कुरामा जोड दिएका छौ। त्यसै नबसौ केही गरौ भनेर खिम्तीबासि लागेका छौ । कृषकहरूलाई प्रत्यक्ष फाइदा हुने गरि हामिले कृषिको काम गर्दै छौ । प्रदेश सरकारले दिने अनुदानमा कृषकलाई जोड्न हामी पुलको काम गरिरहेका छाैँ ।

थामडाडामा अबस्थित सय बर्ष पुरानो छिताकुण्ड महादेवको मन्दिर बनाउछौ भनेका थियौ । बनाइसकेका छौ । उक्त मन्दिर जानको लागि नाङ्गेडाडा-छिताकुण्ड पदमार्ग निर्माण गर्नको लागि आबस्यक कागज पुरातत्त्व विभागमा पुर्याएका छाैँ । भुकम्पपछि क्षतविक्षत भएको श्री तामाकोसी जनजागृती माविको भवन पुनः निर्माण कार्य सम्पन्न भएको छ ।

सरकारी स्कुल भनेपछि नराम्रो पढाई हुन्छ भन्ने मान्यतालाई हामीले गलत सावित गर्दैछौ । गुणस्तरीय शिक्षामा जोड दिएका छौँ । नर्सरी देखिनै हामीले अङ्ग्रेजी माध्यममा पढाई सुरु गरेका छौँ। व्यवस्थापन सोही अनुरूप गरेका छाैँ । ९ कक्षादेखि प्राबिधिक शिक्षा सन्चालनमा ल्याएका छौ । स्कुललाई सुबिधा सम्पन्न बनाएको छौ । ज्यामिरे माविमा समेत हामीले सोही अभ्यास सुरु गर्दै छौ। टाढाका विद्यार्थी समेट्न स्कुल बस यसै बर्ष ल्याएका छौ । एसइइको रिजल्टमा पनि म स्कुल ब्यबस्थापन समितिको अध्यक्ष भएपछी सुधार आएको छ। त्यस्तै यहि बर्ष स्कुलको थप ब्यबस्थापनको लागि अपुग जग्गा समेत किनिसकेका छौ । आधारभूत विद्यालयमा विद्यार्थी संख्या कम भएकाले गाउँपालिका स्तरीय शिक्षा समिति बनेपछि समस्या समाधानतर्फ अग्रसर भएको छ ।

कोरोना कहर चलिरहेको छ। यस समयमा हामीले हरेक टोलमा सचेतना कार्यक्रम सन्चालन गरेका थियौ ।हरेक परिवारलाई साबुन र माक्स बितवरण गरेका थियौ । गाउँ बाहिर रहेका र फर्कन चाहनेलाई गाउँ आउने ब्यबस्था गरेका थियौ र उनिहरुलाइ क्वारेन्टाइनको ब्यबस्था गरेका थियौ । माओवादी द्वन्द्वबाट बिस्थापित भएका सरकारी कार्यलयलाइ खिम्तिमै स्थापना गरेका छाैँ । माओवादी द्वन्द्वबाट बिस्थापित भएका सरकारी कार्यलयलाइ खिम्तिमै ल्याउने प्रयास गरिरहेका छौ। नेपाल बैंक लिमिटेड पुन स्थापित भैसकेको छ । कृषि, पशु र हुलाकको कार्यलय संचालन गर्नका लागि कर्मचारीको माग गरिसकेको छौ। दैनिकी सहकर्मी उज्जवल कडरियासँगको कुराकानीमा आधारित । 

प्रकाशित मिति : २९ चैत्र २०७७, आईतवार ०८:३५