१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

यान्त्रिकीकरणतर्फ अलैँची किसान, जनशक्ति र समयको बचत


१३ चैत, बाग्लुङ । उत्पादन लागत घटाई आम्दानी बढाउन यहाँका अलैँची किसान यान्त्रिकीकरणतर्फ आकर्षित बनेका छन् । जनशक्ति र समयसमेत कम लाग्ने भएपछि किसानले आधुनिक खेती प्रणाली अपनाउन थालेका हुन् ।

परम्परागत सीप र प्रविधिको ठाउँमा नयाँ यन्त्र, उपकरणको प्रयोग बढ्दो छ । उन्नत प्रविधि अपनाउँदा कम लागतमा उन्पादन बढाउन सकिने गलकोट अलैँची ब्लक सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताउनुभयो ।

कृषि औजार तथा उपकरणमा दिइने सरकारी अनुदानले किसानलाई यान्त्रिकीकरणतर्फ लाग्न प्रोत्साहित गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको अलैँची ब्लक कार्यक्रममा सम्मिलित १२ अलैँची किसानले यही साता ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो (मिनिटिलर) पाएको संयोजक भण्डारीको भनाइ छ ।

उहाँका अनुसार कृषि ज्ञान केन्द्र बागलुङले ५० प्रतिशत अनुदानमा अलैँची किसानलाई मिनिटिलर वितरण गरेको हो । रु ५२ हजार पर्ने मिनिटिलर किसानले रु २६ हजारमा पाएका हुन् । अलैँचीका बिरुवा, सिँचाइ, अलैँची सुकाउने भट्टी, त्रिपाललगायतका सामग्री किसानले ८५ प्रतिशतसम्म अनुदानमा पाउँछन् ।

गलकोट नगरपालिका–१ र ४ लाई समेटेर अलैँची ब्लक कार्यक्रम सञ्चालन गरिएको छ । वडा नं १ को चौराहा, पात्लेखोला, भण्डारवन, टोड्के, ज्यामिरे, थलिङ, भैँसे र वडा नं २ को चमुवा, खरुवा, नुवाकोटलगायतका ठाउँमा अलैँचीको व्यावसायिक खेती हुँदै आएको छ ।

दुवै वडाका गरी २५० किसान अलैँची खेतीमा लागेका छन् । “करिब १० हेक्टर जतिमा अलैँची खेती छ, यो वर्ष १५ क्विन्टल उत्पादन भयो”, संयोजक भण्डारीले भन्नुभयो । उत्पादित अलैँचीमध्ये केही बाहिर निर्यात हुन्छ भने गलकोटमै प्याकेजिङ गरेरसमेत बिक्री गर्ने गरिएको छ । प्रतिकिलो रु ६०० मा अलैँची बिक्री हुन्छ ।

विसं २०५४ देखि गलकोटमा अलैँची खेती शुरु भए पनि समूहगतरूपमा विसं २०७२ देखि खेती गर्न थालिएको हो । शुरुका तीन वर्ष पकेट र त्यसपछि ब्लक कार्यक्रम सञ्चालन भइरहेको छ । गलकोटसहित ताराखोला गाउँपालिका र जैमिनी नगरपालिकालाई समेटेर अलैँची जोन कार्यक्रम सञ्चालनका लागि प्रस्ताव अघि बढाइएको छ ।

कृषिको आधुनिकीकरणका लागि किसानलाई सीप, प्रविधि र अनुदान उपलब्ध गराउने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खाद्यान्न बालीसहित तरकारी, फलफूल खेतीमा यान्त्रिकीकरण गर्ने क्रम बढेको केन्द्रको भनाइ छ । निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बन्न यान्त्रिकीकरणले सघाउने गरेको छ ।

केन्द्रले कृषि समूह, सहकारी र व्यक्तिलाई अनुदानमा कृषि यन्त्र, उपकरणहरु प्रदान गर्दै आएको छ । किसानले आफ्नै लगानीमा समेत आधुनिक कृषि प्रणालीलाई अपनाउन थालेका छन् । सरकारी निकायले पनि कृषिमा सीप, क्षमता र प्रविधि हस्तान्तण तथा विकासका कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन् ।

किसानले खाद्यान्न बालीतर्फ गहुँ, धान चुट्ने ‘थ्रेसर’, मकै छोडाउने ‘कर्न सेलर’, उन्नत खालको अन्न भकारी, ‘सुपर ग्रीन ब्याग’ जस्ता सामग्री अनुदानमा पाउने गरेका छन् । यस्तै तरकारी बालीतर्फ आरा, करौँती, ‘सिकेचर’, हजारीलगायतका औजारहरु अनुदानमा किसानलाई दिने गरिएको छ । धान बत्ताउन प्रयोग हुने पङ्खा, आधुनिक मौरी घार, महदानी, पञ्जा, टोपी जस्ता सामग्री पनि किसानले अनुदानमा पाउँछन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार ०९:१४