१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

लोभ र कुण्ठाको भारी बोकेर हिँडिरहेका एमालेभित्रका किर्ना हुन माधवकुमार नेपाल


-किरण देउजा

२०५० सालमा तत्कालीन महासचिव मदनकुमार भण्डारीको षड्यन्त्रमुलक ढंगले हत्यापछि, अपुतालिको रुपमा नेकपा एमालेको बागडोर सम्हाल्न आइपुगेका थिए, माधवकुमार नेपाल। त्यो समयमा “अध्यक्ष” सेरेमोनियल अनि “महासचिव” कार्यकारी पद थियो । सालिन, भद्र, इमानदार, सादगी नेता मनमोहन अधिकारी अध्यक्ष थिए ।

पार्टीको बागडोर आफ्नो हातमा लिएपछि मनमौजी व्यबहार सुरु गरे नेपालले । राष्ट्रियसभामा पार्टीको निर्णय विपरित लागेका बागी उम्मेदवारलाई सघाएको आरोपमा एक पद घटुवा भएका झलनाथ खनालको पद बढुवा गरे । झलनाथ खनाल जगतबहादुर बोगटीलाई सघाएको आरोपमा तात्कालीन कमिटीबाट कारबाही स्वरुप १ तह घटुवामा परेका थिए । उनी पोलिटब्युरोबाट केन्द्रिय सदस्यमा घटुवा भएका थिए।

त्यतिबेला अत्याधिक बहुमत पाएर नेपाली काङ्ग्रेसले सरकार राम्रोसँग सञ्चालन गर्न सकिरहेको थिएन । आन्तरिक द्वन्द्वले गर्दा जनताहरुको आशा निराशामा परिणत हुँदै थियो। ३६/७४ को खेलले गर्दा तत्कालीन प्रम गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरेर मध्यावधि निर्वाचन जाने निर्णय गरे । फलतः २०५१ कार्तिक २७ मा निर्वाचन भयो । एमाले ८८ सिट सहित पहिलो स्थानमा आयो ।

बहुमत कसैको नआएको हुँदा एमालेले अल्पमतको सरकार बनायो । प्रम भए मनमोहन अधिकारी । तर छाँया प्रम जस्तो भए माधव नेपाल । उपप्रधानमन्त्री तथा रक्षामन्त्री सहित माधवकुमार नेपाल सरकार सहभागी थिए । मनमोहनले एउटा मन्त्री राख्छु भन्दा समेत राख्न दिएनन् । त्यतिखेर माधव नेपालले सादगी नेता माथी अपमान गरे, अत्याचार गरे ।

विधानमा नै नभएको “उप-महासचिव” पद सिर्जना गरेर बामदेव गौतमलाई सो पदमा आसिन गराए । पछि सरकार ढलेपछि सो पद खारेज गरे । पार्टी नेतृत्वको लागि महत्वाकांक्षी बनाउदै पुनः तलै झार्दिएपछी उनको महासचिव पद धरापमा परिसकेको थियो । केपी ओली रक्षा कवच भएर महासचिव पद जोगाइदिए । पार्टी विभाजनको अनौपचारिक सुरुवात त्यहीँबाट भएको थियो।

सत्ताको स्वाद चाखेपछी (२०५१-०५६) एमाले पनि सरकार ढलाउने/बनाउने खेलमा लाग्यो। पञ्चेहरुलाई लाजै नमानी बोक्न थाल्यो । सरकारमा सहभागी हुने विषयलाई जबजसँग जोड्न थाले । कार्यकर्ताको मन थाम्नको लागि “भएको बस्तुको अधिकतम प्रयोग गरि जनवाद ल्याउने” हो । जनवाद ल्याउनको लागि आधार तयार गर्न सरकारमा जानुपर्छ भन्दै कुतर्क गर्न थाले।

मनमोहन सरकारले ल्याएको लोकप्रिय कार्यक्रमको कारणले गर्दा २०५४ को स्थानीय निर्वाचनमा एमालेले सानदार ढंगले विजय हासिल गर्‍यो। त्यतिखेर दुइ कार्यक्रम लोकप्रिपय भए । जसमध्ये

– आफ्नो गाँउ आफैं बनाऔं ।
– नौ “स” को अभियान आदिले जनतामा राम्रो प्रभाव परेको कारणले गर्दा स्थानीय निकायमा बहुमत स्थानमा विजयी भयो।

यो देशीविदेशीहरुलाई मन परिरहेको थिएन । एमाले भित्र असन्तुष्ट रहेका, माधवकुमार नेपालको पेलानमा परिरहेकोहरुलाई तिनीहरुले बिस्तारै हात लिन थाले । उनीहरूको मिसन पार्टी बिभाजन गर्नु साथ दिए असन्तुष्ट पक्षले । फलतः छैटौँ महाधिवेशन सकिएको महिना दिन बित्दा नबित्दै पार्टी विभाजन गरे र नाम राखे नेकपा (माले) ।

२०५६ को आम निर्वाचनमा सानदार शून्य सिट हासिल गरेपछी धेरै होनहार कार्यकर्ताहरु भुमिगत रुपमा सशस्त्र युद्ध गर्दै आइरहेको दल तिर लागे। माले पार्टी चलाउन पनि नसक्ने युद्धमा पनि जान आँट नभएका, गुटबन्दी गर्न खप्पिस, केही खुराफाती दिमाग भएकाहरूलाई बोकेर वामदेव गौतम एमालेमा लुसुक्क छिरे (२०५८) ।

त्यो बेलामा (२०५४) र अहिले (२०७७) मा पार्टी फूटाउन नेताहरूलाई उक्साउनेको अनुहार हेर्नुस त! पात्र र प्रवृत्तिहरु एउटै हुन्। केबल समय मात्र फरक हो । त्यो बेलामा उक्सिने वामदेव /सिपि लगायतका थिए, अहिले माधव/झलनाथहरु ।

एमालेको दिनगन्ती विस्तारै तलतिर जान थाल्यो । माधवकुमार नेपालकै नेतृत्वमा लगातार ५७ दिनसम्म संसद अबरुद्ध गरियो । सयद यस्तो इतिहास विश्वमा कहिँकतै छैन् होला। न त लाउडा प्रकरण टुंगोमा पुग्यो न त संसद अवरुद्ध गरेको जवाफ एमालेको नेतृत्वले दिन सक्यो ।

सातौं महाधिवेशनमा एमालेलाई माटोमा मिसाउदै माले बनाएकाहरुसँग मिल्दै, पार्टीमा आन्तरिक लोकतान्त्रिक कुरा उठाउदा केपी ओलीलाई महाधिवेशन स्थलबाट अपमानित गरियो। विचार प्रवाह समेत गर्न दिएनन् । यसलाई निरङ्कुश प्रवृत्ति भन्दा खासै फरक नपर्ला।

दिनहुँ जस्तो नै एमालेका कार्यकर्ताहरु अपहरणमा पर्ने र मारिने क्रम सुरु भयो। गाउँ-गाउँमा एमाले नेता/कार्यकर्ताहरु विस्थापित हुने क्रम सुरु भयो। नेतृत्वलाई जानकारी हुँदा समेत कार्यकर्ताहरुलाई जोगाउने/बचाउने कुनै योजना ल्याउन सकेनन् ।

त्यही समयमा नै शेरबहादुर देउवाले निर्वाचन गर्न नसकेको भन्दा तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ असोज १८ मा अपदस्त गरे। शासन सत्ता आफ्नै हातमा लिए। काङ्ग्रेस फुटिसकेको थियो। गिरिजाप्रसाद कोइरालाको काङ्ग्रेस , देउवाको काङ्ग्रेस प्रजातान्त्रिक, एमाले, नेमकिपा, जनमोर्चा आदि दलहरु विस्तारै सडकमा ओर्लिदै थिए।

राजा ज्ञानेन्द्र सत्तामा विभिन्न मानिसहरूलाई ल्याउदै हटाउदै, दलहरूको नाडी छाम्दै, विभिन्न प्रयोग गर्दै थिए। आन्दोलनको मैदान छोडेर एमाले एकाएक प्रमको निवेदन हाल्न राजदरबार पुग्यो। तर हाता लाग्यो शून्य। दिनहुँ ३ बजे रत्नपार्कमा भेलाहुने, रातोघरको बरन्डाबाट ५ दलको नेताहरुले भाषण गर्ने अनि घर फर्कने जस्ता गतिविधि चलिरहेको थियो।

राजा फुटाउ र शासन गत नीति अख्तियार गर्दै थिए। २०६१ भाद्र १८ गते शुक्रबारको दिन नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) का सभापति शेरबहादुर देउवा लाई प्रममा नियुक्त गरे। एमालेले केन्द्रिय कमिटीले प्रतिगमन आधा सच्चिएको निष्कर्ष निकाल्दै, आन्दोलनबाटै फुत्त भागेर देउवा सरकारमा सहभागी हुने निर्णय गर्‍यो । त्यसपछिको परिदृष्यको त के कुरा ? देउवाले दरबारमा २ पटक प्रजातन्त्र बुझाए। पछिल्लो पटक (२०६१-१०-१९) चै एमाले समेत सहयोगी बन्यो।

त्यसपछिका दिनहरु कस्ता थिए त, अहिलेको पुस्ता धेरैलाई थाहा नै छ। लोकतन्त्र/गणतन्त्र ल्याएपछी एमाले भनेको त आलुजस्तो भयो। जहाँ, जे मा , जतिबेला पनि मिल्ने। सिद्धान्त त कहाँ पुग्यो-पुग्यो नि। त्यसको नतिजा २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा स्पष्ट देखियो। अझ रोचक कुरा त वामपन्थीहरु वीच कार्यगत एकताको कुरा गर्दा एमालेको नेतृत्वले आफूलाई ठूलो फर्सी ठान्यो, “उपत्यकाको १६ औं सिटमा” मात्र तालमेल गर्न सकिन्छ भन्यो। त्यसपछिको नतिजा बारे बताउनु पर्ला र ? बागमतीमा १ सिट बाहेक शून्य भएको थियो।

२०५० साल देखिको रहरलाग्दो, भरलाग्दो एमालेलाई रसातालमा पुर्‍याएर मैदानबाट फुत्त भागेका, एमालेले गति लिन थालेपछी पुन: नेतृत्वको सपना देख्न थालेका पुर्व महासचिव माधवकुमार नेपालले २ दिन अघि राजधानीको एक कार्यक्रममा एमालेको हजारौं कार्यकर्ताको चित्त दुख्ने गरि अभिव्यक्ति दिए । जुन समय नेपाल प्रम भएका थिए, उनलाई जोगाउने/सतिसाल भएर उभिने यिनै कार्यकर्ता थिए।

जसले उनी प्रम हुँदा प्रमबाट हट्नुपर्छ भन्दै हस्ताक्षर गरेर विपक्षी पार्टीले गरेको आन्दोलनमा सहभागी हुन फर्मान जारी गरे, त्यस्ता हुँडार प्रवृत्ति भएकाको बुई चढेर एमालेका खास (पियोर) कार्यकर्ताको मन भाँच्ने कोसिस गरेका छन् । त्यो दिन नेपाल झसङ्ग हुनेछ्न्, ती काँध थाम्नेले आफ्नो उद्देश पूरा भएपछी फुत्त छोडेर/फालेर आफ्नै बाटो तताउनेछन्।

निज नेपाललाई यहि फोरमबाट भन्न चाहान्छु, तपाइहरु जस्ता पार्टीको लागि भाइरस/किर्नोको विरुद्ध सशक्त ढंगले अघि बढिन्छ। एकल र निरङ्कुश ढंगले डेड दसक पार्टी हाक्दा पार्टी कहाँ पुग्यो याद छ ? विधानमा नै नभएको पद सिर्जना गरेर पार्टी फुटको सुरुवात गरेको(२०५१) हैन अाफैँले ? लोभ र कुण्ठाको भारी बोकेर हिँडिरहेका माधवकुमार नेपाल एमालेभित्रका किर्ना हुन ।

– आफ्नै सहयोद्दाले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ बनाउछु भन्दा महाधिवेशनमा विचार प्रवाह गर्न नदिएको । अपमानजनक पुर्वक महाधिवेशन स्थल बाट बाहिर पठाउने काम भयो (२०५९)

– एमालेको पहिचान गुमाउन मद्दत पुर्‍याउने

– राजाको पाउमा प्रम हुन पाँउ भनेर जाहेरी दिने (२०६०)

– प्रतिगमन आध सच्चियो भन्दै आन्दोलनको मैदानबाट भाग्ने (२०६१)

– नैतिक रुपमा पुरै पतन। २ क्षेत्रबाट निर्वाचनमा अत्याधिक मतले पराजित हुँदा समेत जस्केला बाट सभासद, संवैधानिक समितीको सभापति हुँदै प्रम समेत बन्न सफल (२०६५/०६७)

– भु-माफियाको संरक्षण गर्दै बालुवाटारको सरकारी जग्गा ब्यक्तिको नाममा नामसारी गर्ने । (२०६६/०६७)

– नेपाल जस्तो पवित्र भुमीमा होलीवाईन खुवाउने (२०७५)

– आफ्नै गुटका बाहेक पार्टी कार्यकर्ताको बदख्याँई गर्ने ।

– केन्द्रिय कमिटीको बैठक चल्दै गर्दा फुत्त विदेश गैहाल्ने !

– क्रीस्चियनको खर्चमा ६८ भन्दा बढी देश घुमेको त के चर्चा गर्नु !

माधव कुमार नेपालले ०६७/८/१४ मा मन्त्रीपरिषदवाट धोविखोला बगेको जग्गामा पुर्णबहादुर थापालाई मोहिकायम गर्नु भनी मालपोत कार्यालयलाई आदेस दिएको थियो । मालपोतले ०७१ मा खोलाको जग्गामा पुर्णबहादुरलाई मोहिकायमगरी जग्गा दर्ता गरेको थियो ।

(लेखक देउजा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीका सदस्य हुनुहुन्छ ।)

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार १२:१९