१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

भविष्य एमालेकै होः अब उप्रान्त यो वा उ पक्ष भन्ने हुनुहुँदैन


-अर्जन पाण्डे 

पूर्व नेकपामा प्रम ओली पक्ष र दाहाल नेपाल पक्षको अन्तरविरोध चरम उत्कर्षमा पुगेका बेला सर्बोच्चको एउटा फैसलाले नेकपाका नेताहरुलाइ पुरानौ नेकपा एमाले र माओबादी केन्द्रमा फर्काइदियो । अब आआफ्नै पुरानो घर । माओबादीहरुलाइ ठूलो समस्या छैन । आफ्नै पार्टी छँदैछ । बनाउन लाग्नेछन् । उनिहरुलाइ सहजै होला । माधव नेपाल, झलनाथ खनाल समुहलाइ अहिले सबैभन्दा अफ्ठ्यारो भैरहेछ । अस्ति मात्रै तेत्रो रडाको मच्चाएको, साधारण सदस्यबाट समेत निस्कासन गरिएको, भन्नु नभन्नु तथानाम बोलेको सबैको कानमा गुन्जीइरहेको छ । जतिसुकै संयमता अपनाए पनि झलझली ति दृष्यले दुवै तर्फलाइ विक्षिप्त बनाइरहे्छ ।

एउटा पक्षकाले अर्का पक्षकाको अनुहारै हेर्न मन नलाग्ने अवस्था छ । यस्तो बेलामा फेरी पनि मुठभेडको अवस्था श्रृजना गर्नु राम्रो होइन । त्यसो भए के नेपाल पक्षका नेताहरु अब पाखा लाग्ने ? त्यो पनि ठीक होइन । किनकी नेकपा एमाले यत्तिकै यो स्थानमा पुगेको होइन । यो पार्टीको निर्माणमा धेरै नेता कार्यकताको रगत पसिना बगेको छ । यो सबैको पार्टी हो ।

एक पटक मति विग्रियो, एउटाको रिसले अर्काको बुइ चढेर आफ्नै घर ध्वस्त पार्ने गल्ति हुन पुग्यो भन्दैमा कसैको पनि राजनीतिक भविष्य धरापमा पार्नु हुँदैन । सुध्रने मौका सबैले पाउँछन् । तर सबैले आत्म समिक्षा गर्नु पर्छ । तसर्थ, आफूलाइ नेपाल पक्षिय हुँ भन्ने नेता कार्यकर्ताहरुलाइ मेरो सल्लाह के छ भने । तपाइँहरु अहिले तात्तातै संस्थापन पक्ष अगाडी सिंग थाप्न नजानुहोस् । तातेको अवस्थालाइ केही सेलाउन दिनुहोस् । उपायहरु अनेक छन् ।

म त भन्छु, तपाइँहरु केही महिना नेपालका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुहोस् । आफू मात्र होइन परिवार, साथीभाइ संगै लिइ समुह समुहमा आन्तरिक पर्यटन गर्नुहोस् । खासमा नेपाल कम रमणिय छैन । फेरी एउटा जिल्लाका मानिसलाइ अर्को जिल्ला वा एउटा प्रदेशबासलाइ अर्को प्रदेश नौलो नै हुन्छ । तसर्थ एउटा प्रदेशकाहरु अर्को प्रदेश घुम्नुहोस् । पूर्वमा इलाम देखि पश्चिममा लिम्पियाधुरा, दक्षिणमा जनकपुर, सौराहा, लुम्विनी, उत्तरमा खुम्वू क्षेत्र, गोसाइकुण्ड, मुक्तिनाथ, रारा र खप्तड क्षेत्र घुम्नुहोस् । त्यस्तै धनकुटा, काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, स्वर्गद्धारी, सुर्खेत घुम्नुहोस् ।

यसलाइ नितान्त विदा मनाउने र आनन्द लिने अवसरको रुपमा उपयोग गर्नुहोस् । आआफ्ना मोवाइल बन्द गर्नुहोस्, राजनीतिक विषयका कुरा कहिँ कतै नउप्काउनुहोस्, साँच्चैको मज्जा लिनुहोस् । यसबाट हुने फाइदाहरु थाहा पाएर तपाइँहरु दंग हुनुहुनेछ । पहिलो त यस्तो भ्रमणले तपाइँहरुको मानसिक तनाव कम गर्नेछ । एकोहोरो विषयमा लागिरहँदा सिथिल र निष्कृय भएका मस्तिष्कका तन्तुहरु भ्रमणको आनन्दले सकृय र ताजा हुनेछन् । आफ्नो कार्य चुस्तता बढाउन मस्तिष्क ताजा बनाउने यो उत्तम उपाय हो ।

दोश्रो तपाइँहरुलाइ नेपालमा पर्यटन विकास गर्ने धेर थोर ज्ञान हासिल हुनेछ । तपाइँहरु हिजो नीति निर्माणको तहमा हुनुहुन्थ्यो र भोली फेरी निर्णय गर्ने स्थानपा पुग्नुहुनेछ । नेपालमा आन्तरिक पर्यटनको विकास गर्न कहाँ कहाँ कस्ता पूर्वाधारहरुको विकास गर्नु पर्नेछन् अध्ययन गर्नुहोस् । तपाइँहरुको यस कार्यले देश निर्माण नै हुनेछ । तेश्रो, कोभिड १९ को महामारीले नेपालको पर्यटन क्षेत्र सबैभन्दा थला परेकोछ । थोरै भए पनि तपाँइहरुको भ्रमणले आन्तरिक पर्यटनमा चहल पहल बढ्नेछ । स्वदेशी पर्यटन व्यवसायीहरुले त्राण पाउनेछन् ।

सबैभन्दा महत्वपूर्ण फाइदा चाहिँ तपाँइहरुलाइ नै हुने राजनीतिक फाइदा हो । हाम्रो समाजमा एउटा आहान छः रिसमा कसैले बेद पढ्दैन । विगतमा त्यस्तै भयो । फेरी घर झगडा भनेको परालको आगो नै हो । परिवार सदस्य कोहि बदमास निस्कियो भने अभिभावकले थोरै हप्काउने, सम्झाउने जहाँ पनि हुन्छ तर परिवार सदस्यलाइ माया नगर्ने अभिभावक यो सन्सारमा कोहि छैनन् ।

एकाएक तपाइँहरु जस्ता सकृय र जुझारु नेता कार्यकर्ता हराउँदा संस्थापनमा पनि एक खालको रिक्तता महसुस हुनेछ र तपाइँहरुको खोजी गर्नेछ । आज तपाँइहरुले ढोका ढकढक्याउँदा समेत नखोल्ने अवस्थामा परिवर्तन आउनेछ । त्यतिबेला सम्म धेरै तिक्तता दुवै पक्षले बिर्सीसकेका हुनेछन् र आत्मियता बढाउन भ्रमण पछिको ठण्डा दिमागले सहजता थप्नेछ । त्यसो त योग्यता क्षमता र दक्षताको कदर जहिले जहाँ पनि हुन्छ ।

नेकपा एमालेमा तपाँइहरुको उर्जा र योगदान अझै अपरिहार्य छ । मात्र यत्ती हो कि अब उप्रान्त नेकपा एमालेमा यो वा उ पक्ष भन्ने हुनुहुँदैन । सबै एक ढिक्का नेकपा एमाले पक्ष हुनु पर्दछ । अबको एक बर्षमा स्थानिय चुनाव आउनेछ र डेढ बर्षमा संसदीय चुनाव आउनेछ । आजै देखि तैयारीमा लाग्नुहोस् । विगतका गल्तिहरुबाट सबैले पाठ सिकेर, धुलो टकटक्याउँदै पुनः एक भै पार्टी निर्माणमा जुट्नुहोस् । भविष्य नेकपा एमालेकै हो ।

प्रकाशित मिति : १ चैत्र २०७७, आईतवार १९:०३