६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

नेपाल पर्यटकका लागि सुरक्षित र शान्त गन्तव्य : मन्त्री ढकाल


२३ फागुन, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल पर्यटनका लागि सुरक्षित र शान्त गन्तव्यका रुपमा स्थापित भएको बताउनुभएको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभामा मन्त्री ढकालले कोभिड–१९ विरुद्धको खोप वितरण अभियान सफल रुपमा सञ्चालन गरेको र विद्रोही समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा समाहित गर्न सरकार सफल भएकाले यस उपलब्धिबाट पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।

उहाँले सरकारले नेत्रविक्रमम चन्द्र नेतृत्वको नेकपा सिके राउत र विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा रुपान्तरण गरेको उपलब्धिले आगामी दिनमा पर्यटनले भड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री ढकालले पर्यटन क्षेत्रको विविधीकरण र अन्तरराष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना ल्याउन पाटा नेपाललाई आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

‘बिबिसी मास्टरसेफ द प्रोफेसनल्स २०२०’ उपाधिका उपविजेता नेपालका सेफ सन्तोष साहले कोभिड–१९ पछि नेपाललाई संस्कृति र खानाको आकर्षक गन्तव्यका रुपमा पहिचान स्थापित गराउन सरकार र निजी क्षेत्रको साझेदारीमा पहलकदमी लिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले खाद्य स्वच्छता एवं गुणस्तरीय आवास सुनिश्चितता गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पाटा नेपालले आगामी दिनमा आयोजना गर्ने पर्यटन पुनरोत्थान, प्रवद्र्धन र दिगो पर्यटन विकासका कार्यक्रममा मन्त्रालयको आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन पुनरोत्थान, प्रवद्र्धन र विकासका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

पाटा नेपालको साधारणसभाले आगामी पर्यटन प्रवद्र्धनको रणनीति र विदेशी पर्यटक आगमन सहजताका लागि गर्नुपर्ने विभिन्न १० विषयमा सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

संस्थाका अध्यक्ष विभूति चन्द ठाकुरले पर्यटन पुनरोत्थानका लागि अनिर्वाय क्वारेन्टिनको व्यवस्था हटाउने, अनअराइभल भिसा तथा पिसिआर परीक्षणको व्यवस्था मिलाउनेलगायत महत्वपूर्ण १० वटा विषय प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा पाटाले नेपाली पर्यटनमा अतुलनीय योगदान पु¥याएका पूर्वपर्यटनसचिव तथा नेपाल पर्यटन बोर्डका संस्थापक अध्यक्ष दीपेन्द्रपुरुष ढकाललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ । त्यस्तै पाटा अन्तर्राष्ट्रियका सिइओ डा मारियो हार्डीलाई ‘टुरिजम ट्रेल ब्लेजर अवार्ड’ दिइएको छ ।

सेफ सन्तोष साहलाई ‘पाटा पर्सनालिटी अफ द इयर २०२० अवार्ड’ तथा सिल्भर माउन्टेन स्कूल अफ होटेल म्यानेजमेन्टलाई ‘बेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२० अवार्ड’ प्रदान गरिएको पाटा नेपालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आईतवार २०:१५