७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्लाटिनम होटलमा अवैध क्यासिनो सञ्चालन, सञ्चालकसहित १० पक्राउ


२० फागुन, काठमाडाैँ । अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई आज प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु २२ लाख ९६ हजार रकमसमेत बरामद गरेकोे महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

काठमाडौँ महानगरपालिका– १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रुपमा क्यासिनो सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत–मोतिहारीका रञ्जितकुमार जैसवाल, सोहनप्रसाद, मुमताज मियाँ, शेख मुर्तुजा अलि, जनकपुरका राजकुमार सिंह र बाराका टिन्कुप्रसाद छन् । जुवा खेलाउने काठमाडौँ महानगरपालिका–२२ बस्ने सो होटलका व्यवस्थापक महेश मल्ल, सर्लाहीका कमलदेव चौधरी, अजय यादव, क्यासियर सचिन वाग्ले पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट प्रहरीले रु नौ लाखको चेक, नगद रु आठ लाख, ३९० वटा क्यासिनो क्वाइन, पैसा गन्ने यन्त्रलगायत सामग्री बरामद गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार २१:३५