१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

दूरसञ्चार प्राधिकरणका सेवा सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन आग्रह


२० फागुन, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई प्रत्यक्ष लाभ हुने गरी सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गर्नुभएको छ । प्राधिकरणको २३ औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहमा उहाँले प्राधिकरणका सेवालाई सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन सुझाव दिनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “दूरसञ्चार सेवा गाउँभन्दा पनि शहर केन्द्रित भएको छ, ग्रामीण विकास कोषबाट पनि शहरमै विकास भएको छ, अब पूर्वाधारको विकाससँगै यो सेवालाई गाउँसम्म पुर्याउन जरुरी छ ।” उहाँले दूरसञ्चार सेवालाई अन्तरराष्ट्रिय प्रतिस्प्रर्धामा ल्याउन त्यसको अनुसन्धान र समीक्षा गर्नुपर्ने औँल्याउनुभयो ।

फरक प्रसङ्गमा सरकारका प्रवक्ता गुरुङले सरकार र नेत्रविक्रम चन्द समूहबीचको वार्ता सफल भएको बताउँदै अब मुलुकमा शान्ति हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अब राजनीतिक अस्थिरताको अन्त्य हुने बताउँदै यसबाट नेपालमा लगानीमैत्री वातावरण सिर्जना हुने छ भन्नुभयो ।

सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सरकारले शिक्षा क्षेत्रलाई सञ्चारमैत्री बनाउने योजनानुसार जतिसक्दो चाँडो गाउँगाउँमा इन्टरनेट पुर्याउन निर्देशन दिनुभयो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले हालसम्म काठमाडौँ उपत्यकाबाहेकका ५४२ स्थानीय तह, चार हजार ४१२ वडा कार्यालय तीन हजार १२६ स्वास्थ्य केन्द्र र तीन हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पुर्याउने उद्देश्यअनुरुप शतप्रतिशत विद्यालयमा जडान सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार १६:२९