१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

इथियोपियाका हिंसा पीडित ३८ लाख नागरिकलाई मानवीय सहायता प्रदान


२० फागुन, काठमाडाैँ ।  इथियोपियाको उत्तरी टिगरे क्षेत्रमा कम्तीमा पनि ३८ लाख नागरिकलाई मानवीय सहायता उपलब्ध गराइएको छ । सो क्षेत्रमा खाद्यान्नलगायतका सामग्रीको आवश्यकता परेको भन्दै यहाँका नागरिकलाई सो सहायता प्रदान गरिएको हो । यहाँका अधिकारीहरुले करिब आठ लाख किलोग्राम जति खाद्यान्नका साथै अरु सामग्रीहरु पनि उपलब्ध गराइएको बताइएको छ ।

इथियोपियाको प्रधानमन्त्री कार्यालयले बिहीबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो । सो क्षेत्रमा टिगरे पिपुल्स लिबरेसन फन्टको सशस्त्र विद्रोह रहेको थियो । हाल पनि सो क्षेत्रमा उक्त फन्टको विद्रोह जारी रहेको छ । उक्त विद्रोहमा परेर हजारौँ नागरिकले ज्यान गुमाएका छन् भने अरु हजारौँ सो क्षेत्रबाट विस्थापित भएर अन्यत्र सरेका छन् ।

त्यसैले सो क्षेत्रमा सरकारी निकायका अधिकारीको उपस्थिति पनि हुन दिइएको छैन । जसका कारण यहाँका स्थानीय नागरिक द्वन्द्वको चपेटामा परेका छन् र खाद्यान्न लगायतका अरु अत्यावश्यकीय साधनको अभावमा परेका छन् । यहाँका सरकारी निकायको तथ्यांकअनुसार इथियोपियामा अझै पनि करिब ४५ लाख मानिसलाई तत्कालै खाद्यान्न लगायतका आवश्यकीय सामग्रीको खाँचो छ ।

तीमध्ये अधिकांश नागरिक हिंसाको चपेटामा परेका नागरिक हुन् । टिगरेको द्वन्द्वका कारण मात्र यहाँका करिब २२ लाख मानिस विस्थापित भएका छन् । उनीहरु कतिपय इथियोयामा नै शरणार्थी भएर रहेका छन् भने अरु कैयौँ नागरिक विस्थापित भएर विदेशिन बाध्य भएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार १४:१२