६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार


१८ फागुन, वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाउनु भएको तथ्य सार्वजनिक भएको छ । उहाँहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाउनु भएको तथ्य अहिले मात्रै सार्वजनिक भएको हो । चिकित्सकहरुको सल्लाहमा नै ट्रम्प दम्पतीले त्यतिबेला नै खोप लगाउनु भएको उहाँका सल्लाहकारले सोमबार जानकारी दिएका छन् ।

“राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले गत जनवरीमै कोरोना विरुद्धको खोप लगाउनु भएको थियो,” उहाँका सल्लाहकारले भने । उनले अरु विवरण भने नबताएको समाचारमा उल्लेख गरिएको छ । तत्कालीन राष्ट्रपति ट्रम्पले कोरोनाको महामारी चलिरहेका बेला खोप र मास्कको प्रयोग आवश्यक नभएको बताउने गर्नु भएको थियो । त्यसको विरोध गर्ने व्यक्तिले नै भित्री रुपमा खोपको प्रयोग गरेको तथ्य सार्वजनिक भएको हो ।

उहाँ राष्ट्रपति भएका बेला विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएको थियो । अन्य देशहरुले भाइरसको महामारी नियन्त्रणका लागि मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेमा जोड दिएपनि ट्रम्पले भने त्यसको बेवास्ता गर्नु भएको थियो । ट्रम्पले गत जनवरी २० सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेबारी सम्हाल्नु भएको थियो । त्यसपछि अहिले जो बाइडेन अमेरिकाको राष्ट्रपति हुनुहुन्छ ।

उहाँले भने कोरोनाविरुद्धको खोप लगाउनुका साथै भाइरस नियन्त्रणका लागि अपनाउनु पर्ने मापदण्डको पालना गर्न सबै अमेरिकीलाई आह्वान गर्दै आउनु भएको छ । कोरोना विरुद्ध स्वास्थ्य मापदण्ड पालना गर्न विश्व स्वास्थ्य संगठन लगाएका आधिकारिक र जिम्मेवार निकाय तथा वैज्ञानिकहरुले सुझाव दिएका हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार १४:३८