८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

-किरणकुमार श्रेष्ठ

चट्टान र पहरासँग
पौठेजोरी खेल्दै,
बाधाहरु पन्छाउदै,
अविरल बग्ने
वेगवान, गतिशील ,
कहिले शान्त,
कहिले गडगडाहट,
उतार, चढाव,
विना थकावट,
सागरको गन्तब्य भेट्टाउन
लक्ष्य यात्रामा,
निरन्तर बढिरहने
नदी रहेछ ‘जीवन’ ।
ब्रम्हाण्डलाई आंलिगन गर्न सक्ने
विशाल मन, फराकिलो छाती
अनन्त, अपार,
सफा, निलो,
आकाश रहेछ ‘जीवन’ ।
अनेकौ नदी र भंगालाहरु
थरी थरीका रुप र स्वादहरु,
समाहित गर्दै
आफ्नै गर्भमा
सयथरी जीव हुर्काउँदै,
समन्वय, संरक्षण,
फराकिलो छाती भएको
समुद्र रहेछ ‘जीवन’ ।
विहानको सुनौलो झुल्के घाम,
काँडा विच फक्रेको गुलाव,
नवजात शिशुको निश्चल मुस्कान झैं
सुन्दर, शान्त, विशाल रहेछ ‘जीवन ‘
तसर्थ,
फूल र काँडा,
उज्यालो र अँध्यारो,
उकाली र ओराली,
संघर्ष र समर्पण,
हाँसो र रोदनको
त्रिवेणी रहेछ ‘जीवन’ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार ११:१२