१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

राष्ट्रिय प्रसारण लाइनको बिजुली देवघाट पुग्यो


६ फागुन, काठमाडाैँ । देवघाट गाउँपालिकाका–१ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । वडा नं ५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो । त्यस क्षेत्रमा अहिले लघु जलविद्युत्मार्फत विद्युत् आपूर्ति भइरहेको थियो ।

राष्ट्रिय ग्रिड पुगेकाले अब त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय रहेको तनहुँ विद्युतीकरण आयोजनाका साइट इञ्चार्ज लक्ष्मण रेग्मीले जानकारी दिनुभयो । जिल्लामा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् बिस्तार गरिएको हो । नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन भइरहेको कार्यक्रमबाट जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ११ केभी लाइन र तीन वटा ट्रान्सफर्मर आज सञ्चालन गरिएको आयोजनाका साइट इञ्चार्ज रेग्मीले जानकारी दिनुभयो । “लाइन र ट्रान्सफर्मर जडान गरी चार्ज गरेका छौँ, तनहुँ वितरण केन्द्रले अब उपभोक्ताको घरघरमा मिटर जडान गर्नेछ”, उहाँले भन्नुभयो, “लाइन पुगेपछि त्यस क्षेत्रका करीब ५०० घरधुरी लाभान्वित हुनेछन् ।”

विद्युत् आपूर्तिका लागि कालीटार, कोटा र गोपीटारमा एक/एक वटा ट्रान्सफर्मर राखिएको छ । केही दिनअघि घिरिङ गाउँपालिका–१ मा पनि राष्ट्रिय प्रसारण लाइन पु¥याइ विद्युत् आपूर्ति शुरु गरिएको छ । आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत जिल्लामा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न इष्टइण्डिया उद्योग÷वाइवा इन्फ्राटेक जेभीसँग १३ मङ्सिर २०७५ मा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौताको रकम ६१ लाख ५३ हजार अमेरिकी डलर रु चौध करोड ८८ लाख रहेको छ । ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ । कम्पनीले ३३/११ केभी वितरण लाइन निर्माण गर्नेछ । उक्त कार्यक्रमअन्तर्गत नै बन्दीपुर गाउँपालिकाको सराङघाट र घिरिङ गाउँपालिकामा सबस्टेशन निर्माणाधीन छन् । ग्रामीण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण काम यसै आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ ।

गुणस्तर तथा नापतौल विभागको क्षेत्रीय कार्यालय पोखराको सहयोगमा आज दमौलीमा २६५ व्यवसायीका ढक, तराजु र मिटरको जाँच गरिएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ, दमौली बजार एकाइको समन्वय व्यापारीले प्रयोगमा ल्याउने नाप तौल सही किसिमले प्रयोग गरेका छन् कि छैनन् भन्ने उद्देश्यले नापतौलको जाँच गरिएको हो ।

जाँच गर्ने क्रममा आज सदरमुकाम दमौलीमा ढक, तराजु तथा डिजिटल काँटा र मिटरको परीक्षण गरिएको हो । उपभोक्ता नठगिउन् र व्यापारीले पनि बढी दिएर घाटामा नजाउन भनेर परीक्षण गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका निरीक्षक मौनता मानन्धरले बताउनुभयो ।

नापतौल जाँचका क्रममा अधिकांश व्यवसायीले जरिवाना तिरेका छन् । समयमा नवीकरण नगर्ने व्यवसायीले रु १०० का दरले जरिवाना तिरेको निरीक्षक मानन्धरले बताउनुभयो । इलेक्ट्रिक ढक प्रयोग गर्ने व्यवसायीले अनिवार्यरुपमा १० प्रतिशत बराबरको ढक राख्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी आज नापतौल जाँचका क्रममा पाँच व्यवसायीको मेशिन जफत गरिएको छ । दर्ता नगरिएका, नवीकरण नगरिएका र स्टीकर टाँस नगरिएका व्यवसायीको मेशिन जफत गरिएको दमौली बजार एकाइका सचिव दधीराज घिमिरेले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार १९:४४