४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर


६ फागुन, खोटाङ । जनसेवा समाज नेपाल र डिटुएन फाउण्डेशन अमेरिकाको साझेदारीमा खोटाङका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । अमेरिकी सहयोगमा जनसेवा समाज नेपाल जालपाद्वारा सञ्चालित कोरोना सहायता परियोजनाअन्तर्गत दूरदराजमा रहेका सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बुधबारदेखि स्वास्थ्य शिविर शुरु गरिएको हो ।

जनसेवा सामुदायिक अस्पताल जालपासँगको सहआयोजनामा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाबाट शुरु गरिएको स्वास्थ्य शिविरमा विशेषज्ञसहितको टोली सहभागी छन् । वडा नं ३ ऐसेलुखर्क बजारमा आयोजना गरिएको स्वास्थ्य शिविरको पहिलो दिन २२४ जनाको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताउनुभयो ।

ऐसेलुखर्क गाउँपालिकाको बाकाचोल, माक्पा, राखाबाङङ्देल, ऐसेलुखर्क, महेश्वरी र जलेश्वरीका सर्वसाधारणलाई ललक्ष्य गरेर विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ । शिविरमा सामान्य स्वास्थ्य जाँच, आँखा, दाँत, भिडियो एक्स–रे, आमा तथा शिशुको स्वास्थ्य परीक्षण, सर्भाइकल परीक्षणलगायतका सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

स्थानीय बासिन्दाको गाउँमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि सेवाग्राहीसमेत हर्षित भएका छन् । पन्ध्र श्ययाको एक मात्र सरकारी अस्पताल रहेको जिल्लामा दूरदराजका स्थानीय बासिन्दाका लागि सामान्य किसिमको बिरामी पर्दासमेत ठूलो आर्थिकभार व्यहोरेर स्वास्थ्योपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ ।

यस्तै फागुन ८ र ९ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला, फागुन ११ र १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, फागुन १४ र १५ गते रावाबेँसी गाउँपालिकाको हरमटार र फागुन १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा स्वास्थ्य शिविरको तयारी गरिएको छ ।

विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका, शारीरिक अपाङ्गता भएका नागरिक तथा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको आयोजकले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविरमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले सहजीकरणको काम गरिरहेका छन् ।

स्वास्थ्य शिविरमा जनसेवा सामुदायिक अस्पतालका एक जना एमडिजिपी, दुई मेडिकल अधिकृत, एक बालरोग विशेषज्ञ र एक दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रका स्थानीय तथा विपन्न समुदायको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहँुच विस्तार गर्ने उद्देश्यका साथ विसं २०६९ मा जनसेवा सामुदायिक अस्पताल स्थापना गरिएको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार १६:१७