१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

आँखा, कान, नाक, जिब्रो र छालाले आत्मियता महशुष गर्नु नै पर्यटन होः प्रा डा प्रेम शर्मा


-भुमराज तिवारी 

परिवारमा सत्रौ सन्तानको रुपमा ७० वर्षअघि पर्वत जिल्लाको भोक्सिङ गाउँमा जन्मनु भएका प्रा. डा. प्रेम शर्मा शिक्षाविद सँगसँगै ग्रामिण पर्यटन विज्ञको रुपमा परिचित हुनुहुन्छ । धेरै कठिन र शारीरिक श्रममा बाल्यकाल बिताउनु भएका शर्माले ४ वर्षसम्म स्थानिय गुरुङहरुको गाई गोठाला भएर बिताउनु भयो । ११ वर्षको उमेरमा विद्यालयमा पाइला टेक्नु भएको शर्माले दैनिक रुपमा बिहान घाँसको भारी ल्याएर डेढ घण्टा हिँडेर पुगिने स्कूलबाट आफनो पढाई पुरा गर्नु भयो । पढ्न सुरु गरेको सात वर्षमा नै शर्माले एसएलसी उतिर्ण गर्नुभएको थियो । गाउँघरको दही, दुध, ध्यू खादै हिडँडुल गरेर हुर्किएको शरिर ७० वसन्तमा पनि उतिकै फूर्तिलो छ । शरीरमा दुख दिने कुनै रोग छैन र त्यो भन्दा ठूलो युवा आत्मवल छ ।

काठमाडौँमा हुँदा बिहान ३ देखी ४ बजेभित्र उठिसक्ने शर्मा पहिला विदेशी संचार माध्यमका समाचार हेरेर दिनको सुरुवात गर्नुहुन्छ । झिसमिसेमै १ लिटर मनतातो पानी खाएर डेढ घण्टा खलखली पसिना चुहिने गरी हिड्नु हुन्छ । त्यसपछि घर फर्किएर दुईवटा कागतीको रस सँग एक चम्मा मह मिसाएर एक बोतल पानी स्वाटै् पार्नुहुन्छ । प्राय आफै खाना पकाउन रमाउने शर्मा खाना पछि अनुसन्धान, लेखन तथा भेटघाटमा जानु हुन्छ । अहिले पनि ३ जना पिएचडी अध्ययनरत विद्यार्थीको शोधमा निर्देशन गर्दै हुनुहुन्छ । फुर्सदमा लोकगित र ठट्यौली कार्यक्रम वहाँको रोजाईमा पर्ने गर्दछ ।

ग्रामिण विकास केन्द्रिय विभागका पूर्व प्रमुख शर्मा बुढेसकालमा पनि युवा जोँश सहित डाँडाकाँडा चर्हादै, स्थानिय संस्कृतिमा घुलमिल हुदैँ नाच्दैँ, गाउँदै, रमाउँदै हिड्ने थोरै व्यतिको अग्रपङतिमा पर्नुहुन्छ । गाडीमा यात्रा गर्न भन्दा हिड्न मन पराउने वहाँले कामको सिलसिलामा नेपालका धेरै भु भागको पटक पटक पैदल यात्रा गर्नुभएको छ । पाँचतारे होटलमा भन्दा होमस्टेमा मस्त रमाइलो गर्दै बस्न मन पराउने शर्मा होमस्टे स्थानिय जनजीवन, कला संस्कृति, रहनसहन बुझ्न सवैभन्दा प्रभावकारी माध्यम भएको ठान्नुहुन्छ । सवैभन्दा ठुलो पाठशाला नै गाउँ हो । गाउँ बुझ्न र महशुष गर्न सके शहरमा अल्झिरहनु नपर्ने शर्माको सुझाव छ । विदेश बारम्बार गइरहने वहाँलाइ नेपालकाे गाउँघर नै प्याराे लाग्छ ।

आँखा, कान, नाक, जिब्रो र छालाले आत्मियता महशुष गर्नु नै पर्यटन हो । एउटा मात्र इन्द्रिय खुसी हुन पाएन भने पर्यटकको यात्रा खल्लो हुने शर्माको भनाई छ । त्यसैले हमेशा सवै इन्द्रिय खुसी हुने गरी आत्मियता महशुष गरेमा मात्र मान्छेले वाउ भन्छन अर्थात खुसी हुन्छन । इन्द्रिय खुसी भएपछि आफनो क्षमता अनुसारको पैसा खर्च गर्न मान्छे कन्जुस्याई गर्दैनन ।

इन्द्रिय खुसी हृुने दुई मुख्य वस्तु हुन संस्कृति र प्रकृति । नेपाल दुवै कुरामा धनी छ । प्रकृति भन्दा अझ विशेष संस्कृतिमा धेरै धनी लाग्छ । पछिल्लो समय विस्तारित भइरहेको होमस्टे पूर्व र पश्चिमका पहाडी गाउँमा विकास हुन सके जीवनस्तरमा धेरै परिर्वतन आउने शर्माको विचार छ । होमस्टेको विकासको लागी सवैभन्दा पहिलो जनशतिको विकास अनि पूर्वाधार निमार्णमा लगानी गर्नुपर्ने अवस्था छ । छिमेकी मुलुक भारत र चिनका पर्यटकहरुलाई गाउँ गाउँमा आर्कषित गर्न सकेमा मात्रै ग्रामिण पर्यटनले लाभ लिन सकिने शर्माको भनाई छ ।

अवको अभियान त्यसरी चलाउन सके गाउँको अर्थ व्यवस्था निकै राम्रो हुने छ । गाउँको पर्यटनमा पर्याप्त मात्रामा आतिथ्यता, खुलापन, कला, संस्कृति सवैको समिश्रण पाइने हुनाले पनि अनुभवको लागी नेपाली ग्रामिण जनजीवन रोचक हुन सक्ने छ । पाेखरा र नजिकका जिल्लाका व्यवसायिक हाेमस्टेकाे सफलताबाट हाैसिनु भएका शर्मा सवै ठाउँमा अभ्यास गरेमा सफलता भइने विश्वास व्यक्त गर्नुहुन्छ ।

विभिन्न अन्तराष्ट्रिय र राष्ट्रिय संघ संस्थाका विज्ञ सल्लाहकार शर्मा २२ वर्ष देखी गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपालको प्रमुख सल्लाहकारको रुपमा ग्रामिण पर्यटनलाई उत्साह भर्न बारम्बार क्यामेरा भिरेर विदेशी झै गाउँ डुल्दै हिड्न पाउँदा औधी खुसी हुनुहुन्छ । ग्रामिण पर्यटन र जीवन भोगाईका विषयमा प्रा. डा. प्रेम शर्मासँग गरिएको भिडियो कुराकानी ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार २१:३९