८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बिरामी बोक्ने एम्बुलेन्स अाफैँ बिरामी भएपछि बर्दिवासवासी चिन्तित


–गोपालप्रसाद बराल
१५ फागुन, महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रका सर्वसाधारण आकस्मिक उपचार सेवाका लागि एम्बुलेन्स सुविधा नपाउँदा मर्कामा परेका छन् ।

एक वर्षदेखि बिग्रेर थन्किएका बर्दिवासको सरकारी अस्पताल (बर्दिवास अस्पताल) का दुवै एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा नल्याउँदा यस क्षेत्रका सर्वसाधारणले आकस्मिक उपचार सेवा लिन पाएका छैनन् ।

अस्पतालले एम्बुलेन्स मर्मतसम्भार गरेर सञ्चालन गर्न तत्परता नदेखाउँदा यस भेगका विपन्न मान्छे चर्को मूल्यमा निजी एम्बुलेन्स लिएर अस्पताल पुग्न बाध्य हुनुपरेको सर्वसाधारणको गुनासो छ ।

‘एक वर्ष भइसक्यो, एम्बुलेन्स बिग्रेको, अहिले बन्ला छैन, भोलि बन्ला छैन’, बर्दिवास–२ बुद्धचोककी पवित्रा खड्काले अस्पताल प्रशासनप्रति रोश व्यक्त गर्दै भन्नुभयो, “के छ र ? ठूलाबडालाई पैसा भएपछि सुविधा पाकै छन्, मर्ने र मर्कामा पर्ने त गरीबगुरुवा त हुन् नि ।”

बर्दिवास अस्पताललाई भारत सरकारले उपलब्ध गराएको ज १ झ ३६० नं को एम्बुलेन्स गत वर्षको बाढीले बगाउँदा बिग्रेर थन्किएको करीब सात महिना भइसकेको छ । त्यसैगरी बिरामीको सुविधाका लागि पाकिस्तान सरकारले उपलब्ध गराएको अर्को ना १ झ ९४८ नं को एम्बुलेन्स बिग्रेर थन्किएको एक वर्ष भइसक्दा पनि यसको मर्मतसम्भारमा कसैले वास्ता नदेखाएको सेवाग्राहीको गुनासो छ ।

“वरपर छरछिमेक र आफ्नै घरमा पनि स्वास्थ्य समस्या परिरहेको हुन्छ”, बर्दिवास–९ पशुपतिनगरकी सामाजिक कार्यकर्ता शैल महतोले भन्नुभयो, “अति आवश्यकतामा एम्बुलेन्सका लागि फोन ग¥यो, जहिले बिग्रेको छ भन्ने जवाफ आउँछ ।” अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल विकास समितिका पदाधिकारी र नगरपालिकाका प्रतिनिधिले चाहिएको बेला अन्यत्रबाटै एम्बुलेन्स सुविधा पाउने भएपछि सर्वसाधारण जनताको काममा आउने सरकारी अस्पतालको एम्बुलेन्समा कसैको ध्यान नपुगेको महतोको आरोप छ ।

अस्पतालका कर्मचारी भने रकमकै अभावमा एम्बुलेन्सको मर्मत हुन नसकेको बताउँछन् । विगतमा एम्बुलेन्स सेवावापतको बाँकी रकम असुल नभएको र अहिले कतैबाट मर्मत खर्चको जोहो हुन नसक्दा मर्मतमा समस्या भएको एम्बुलेन्स व्यवस्थापन समितिमा अस्पतालका प्रतिनिधि मिथिलेश साह बताउनुहुन्छ । विगतमा दिइएको सेवावापत रु तीन लाखभन्दा बढी रकम असुल हुन बाँकी रहेको साहको भनाइ छ ।

बर्दिवास, औरही र भंगाहा नगरपालिका तथा छिमेकी जिल्ला धनुषाका मिथिला नगरपालिका र सिन्धुलीका कमलामाई र दूधौली नगरपालिकाका विभिन्न बस्तीसहित एक लाख ५० हजार जनसङ्ख्या ओगटेको क्षेत्रलाई बर्दिवास अस्पतालले स्वास्थ्योपचार सेवा सेवा दिँदै आएको छ ।

ठूलो भूगोल क्षेत्रका एक लाख ५० हजारभन्दा बढी जनसंख्याले उपचार लिने अस्पतालको एम्बुलेन्स कवाडी खानामा थन्किँदा गरीब परिवारका सेवाग्राही समयमै स्वास्थ्य सेवा पाउने अवसरबाट वञ्चित भएको बर्दिवास–११ खयरमाराका सामाजिक कार्यकर्ता नीरनाथ गेलाल बताउनुहुन्छ ।

नगरपालिकाको चासो
बर्दिवास नगरपालिकाले एम्बुलेन्सबारे चासो बढाएको छ । एम्बुलेन्स के कस्तो अवस्थामा छन्, विगतमा एम्बुलेन्सको रकम के कसरी संकलन र खर्च भएको छ, अब एम्बुलेन्सको नियमित मर्मतसम्भार कसरी गर्न सकिन्छ भन्ने अध्ययन गरेर आवश्यक कदम चालिने नपाले जनाएको छ ।

जनताको सुविधालाई ध्यान दिँदै तत्काल एम्बुलेन्स मर्मतका लागि रकम जुटाउन लागिएको नपा स्वास्थ्य शाखाका सहसंयोजक मीनबहादुर सेनले जानकारी दिनुभयो ।

यही फागुनको अन्तिमसम्म कमसेकम एउटा एम्बुलेन्स मर्मत भएर काममा आउने गरी काम थालिएको सेनको भनाइ छ । रासस

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार १२:२७