१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

चिनियाँ रेलले नेपाललाई छुँदामात्र पनि हामीले भन्ने गरेको समृद्धि विपनामै प्राप्त हुनेछ


के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ । असार ७ गते बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो ।

विसं २०७४ वैशाख २९ मा नेपालले चिनियाँ आयोजना बिआरआईमा हस्ताक्षर गरेपछि तत्कालीन परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले भनेका थिए—निकै ठूलो प्रयासबाट हामीले यस सम्झौतामा हस्ताक्षर गरेका छौँ, अब नेपाललाई चीनसँगको ‘कनेक्टिभिटी’ बढाउने र छिमेकीको समृद्धिबाट कसरी लाभलिने भन्ने कुरा हामीमै भरपर्छ ।

महतले भनेजस्तै भारतले समेत हस्ताक्षर गर्न नमानेको यस आयोजनामा नेपालले सहमति जनाउन थोरै मेहिनेतले पक्कै सम्भव थिएन होला । अनि उक्त आयोजनाको प्रारुपभित्र छिरेरमात्र पनि चिनियाँ समृद्धि नेपालमा आइहाल्ने होइन । डा.महतले चीनको उक्त आयोजनाबाट लाभान्वित हुन नेपालले हवाई तथा स्थल ‘कनेक्टिभिटी’, पारवहन र पूर्वाधार निर्माणमा चिनियाँ लगानी भित्र्याउन जरुरी छ पनि भनेका थिए ।

महतले संकेत गरेको कनेक्टिभिटीको पहिलो प्राथमिकता रेलमार्ग नै थियो । त्यही कनेक्टिभिटीको सार्थक पहल असार ७ गते बिहीबार भएको छ र अब सुरुहुने अपेक्षा पनि बढेको छ । दुई प्रधानमन्त्रीबीच चीनसँग रेलमार्ग र प्रशारण लाइनका साथै अरु धेरै कुराहरुको सहयोग र सहकार्यमा सहमति भएको छ । तीमध्ये पनि बिहीबार भएको रेलमार्ग निर्माणको सम्झौताले भने अब नेपालमा रेलमार्ग निर्माणको औपचारिक प्रक्रियाको थालनी हुने आशा बढाएको छ ।

बेइजिङमा भएको यस समझ्दारीले नेपालमा रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने कार्यका लागि बाटो खोलिदिएको छ । यसका लागि आवश्यक पर्ने खर्चको पनि अनुमानित तथ्याङ्क आपसमा तय भएको छ । उक्त डिपीआर तयार भएपछि निर्माणको प्रक्रिया नै सुरु हुनेछ । चीनकै योजनामा पनि सन् २०१९ को अन्त्यसम्म चीनको सिगात्सेसम्म रेल पुर्याइने बताइएको छ । नेपालमा रेल भित्रिँदा यसैलाई केरुङको बाटो काठमाडौँ ल्याउने हालको सोँच हो । नेपालको चीनसँगको सीमा रसुवागढीदेखि काठमाडौँ करिब ८० किलोमीटर छ । सम्भवतः डिपीआर निर्माण हुँदा यही मार्ग छान्ने सम्भावना धेरै रहन्छ । चिनियाँ पक्षको तयारी पनि यही देखिन्छ ।

नेपालमा आउने रेल कार्गाे रेल रहने योजना चीनले अघि सारेको छ । कार्गाे रेलमा सामान र यात्रु दुवै राख्न मिल्छ । यस्तो रेलले नेपाललाई छुँदामात्र हामीले भन्ने गरेको समृद्धि विपनामै प्राप्त हुनेछ । किनभने हाम्रो उत्तरी छिमेकीको समृद्धिलाई अहिले ठूलो हिमालले छेकेको छ । उत्तरी छिमेकीको सम्पन्नताबाट हामी लाभान्वित हुन सबैभन्दा पहिलो शर्त र आधार भनेकै यातायात हो । समुद्रसम्मै पहूँच नभएका हामीहरुको लागि अहिले हिमाल वारिपारि गर्न सहज, सरल र सस्तो बाटो चाहिएको छ । त्यो बाटो सकेसम्म रेलकै बन्यो भने लाभदायक हुनेछ ।

रेल नेपाल भित्रिँदा चिनियाँ समृद्धि भने पक्कै भित्रिन्छ । हामी तेलदेखि सेलसम्म नै दक्षिणतर्फ निर्भर छौँ । हामी वाध्यताबस आश्रित हुनुपरेको फाइदा उनीहरुले उठाउने गरेको एउटा उदाहरण नाकाबन्दी हो । त्यसैले वास्तवमै चीनबाट यहाँ रेल भित्रियो भने उत्तरको समृद्धि कुनै न कुनै रुपमा नेपाल भित्रिन्छ र यसले दक्षिणतर्फको परनिर्भरताको हद घटाउन सघाउँछ । त्यसैले पनि चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीलाई नेपालीले पछ्याइरहेका छन् ।

विश्वको करीब ६४ प्रतिशत जनसंख्या समेटेको एक्काइसौँ शताब्दिको सबैभन्दा महत्वाकांक्षी मानिएको बिआरआइ योजनाका कारण विश्वमा चीनको चासो र चर्चा बढी छ । दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्लो सयममा गरेको आर्थिक र प्रविधिको विकास, रेलसेवा र अन्य पूर्वाधारमा मारेको लोभलाग्दो फड्को हामीजस्ता छिमेकीका लागि फाइदै हो ।

सन् २०१६ को अन्त्यसम्म चीनले विदेशमा गरेको लगानी १६० अर्ब अमेरिकी डलर भन्दा बढी देखिन्छ । विगतका वर्षका तुलनामा यो निकै धेरै हो । हाम्रो चासो पनि यहीँ नै हुनुपर्छ । चीनको यति ठूलो लगानीबाट हामी कसरी लाभान्वित हुने भनेर हामीले नै योजना बनाउन सक्नुपर्छ ।

चीनले गत जुन २६ मा प्रतिघन्टा कम्तीमा ३५० किलोमीटर गुड्ने बेइजिङ—सांघाई द्रुतगतिको रेलसेवा सुरुगर्यो । ठूलो उपलब्धि मानिएको यो संसारकै सबैभन्दा तिब्र गतिको रेलमा पर्दछ ।

तर के उसले यो तीब्र गतिको रेलमा नेपाललाई पनि सवार गराउला त भन्ने प्रश्नमा केही महिना अघि नेपाल आएका चाइनिज एकेडेमी अफ सोसियल साइन्सेजका अध्यक्ष वाङ वेक्वाङले भनेका थिए — चीनले नेपाललाई चीनको आर्थिक विकासको द्रुतगतिको रेलमा चढ्न स्वागत गरेको छ । नेपालको समृद्धि र प्रगतिका लागि पनि चीन तयार छ । नेपाल समृद्ध होस भन्ने चीनको चाहना हो तर यो समृद्धिबाट कसरी फाइदा लिने भनेर त नेपालले नै सोच्ने हो ।

राजनीतिक विश्लेषकहरु भन्छन्— नेपाल इतिहासमै यतिखेर चीनसँग बढी नजिकिएको छ । राजनीकि, आर्थिक या अन्य हिसाबले पनि यी दुई छिमेकीबीच पछिल्लो समयमा धेरै कुरा आदानप्रदान भएका छन् । यो आदानप्रदानको मात्रा पछिल्ला वर्षहरुमा बढ्दो छ । चीनको बिआरआइ आयोजनामा नेपालको सहभागिता पनि यसको सबैभन्दा ओझिलो उदाहरण हो ।

यसबाट लाभान्वित हुने योजना बनाउनुपर्छ भन्छन् नेपालको अर्थ राजनीति विषयका ज्ञाता एवम् नेकपाका सांसद डा.सूर्य पाठक । चीेनजस्तो समृद्ध छिमेकी पाउनु हाम्रा लागि खुसीको कुरा हो, तर छिमेकीको समृद्धिबाट कति र कसरी लाभ लिने भन्ने कुरा हाम्रो क्षमतामा भरपर्छ । चीनले नेपाललाई पनि आफ्नो समृद्धिको रेलमा सवार गराउन चाहेकै छ तर तानेर लाने होइन, रेल चढ्न आफै सक्षम हुनुपर्छ—डा.पाठकको भनाई छ ।

नेपाल चीनले दक्षिण एसियामा गर्ने लगानीको लागि ‘ट्रान्जिट प्वाइन्ट’ पनि हुनसक्छ । चिनियाँ रेल नेपाल आउँदा यहाँमात्र बस्दैन सायद भारतसम्मै पुग्छ । भारत हुदै अन्त पनि जान्छ । त्यतिखेर नेपाल दक्षिण एसियाको व्यापारिक केन्द्र पनि बन्न सक्छ । त्यो रेल यहाँ आउँदा सवा सय करोड भन्दा बढी जनसंख्या रहेको देशका पर्यटक भित्रिन्छन् ।

त्यसैले अहिले सबै नेपालीले सोधिरहेका छन्— के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्नको उत्तरका लागि अहिले अनुत्तरित नै रहेका रेलमार्ग निर्माणको लगानी कस्तो र कसको हुने तथा कसरी निर्माण गर्ने भन्नेजस्ता प्रश्नहरुको उत्तर जतिसक्दो चाँडै पहिल्याउँदा राम्रो हुन्छ

प्रकाशित मिति : १० असार २०७५, आईतवार ०७:५१