१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेकपा नुवाकोटको अध्यक्षमा बद्री मैनाली, खतिवडा दाजुभाइ पदमुक्त


१५ माघ, नुवाकोट ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट जिल्ला कमिटीको आजको विस्तारित बैठकले बाग्मती प्रदेशका सांसद बद्री मैनालीको अध्यक्षतामा जिल्ला कमिटी पुनः गठन गरेको छ । मैनाली तत्कालीन नेकपा (एमाले) मा जिल्ला उपाध्यक्ष हुनुहुन्थ्यो ।

नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु खेम लोहनी, केशव पाण्डे, रामशरण प्याकूरेल, विन्दा ढुङ्गाना, ठाकुर गजुरेल र विजय लोप्चन लगायतको उपस्थितिमा भएको बैठकले अध्यक्ष हीरानाथ खतिवडा र नारायणप्रसाद खतिवडाले प्रभावकारीरुपमा जिम्मेवारी निर्वाह नगरेको जनाउँदै उहाँहरुलाई जिम्मेवारीमुक्त गरेको जिल्ला कमिटी सदस्य माधवप्रसाद तिवारीले जानकारी दिनुभयो ।

बैठकले नेकपाको विधान अनुसार साविकको जिल्ला समित विस्तार गरेको छ भने सचिवको चयन आगामी बैठकले गर्ने जनाइएको छ । बैठकले आर्थिक व्यवस्थाको काम व्यवस्थित गर्न बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालको संयोजकत्वमा कोष व्यवस्थापन समिति गठन गरेको छ ।

समितिमा तारकेश्वर गाउँपालिकाका प्रमुख रमेश वस्ती उपसंयोजक रहनुभएको छ । पुनःगठित कमिटीले यही माघ १९ गते बट्टारमा उपप्रधानमन्त्री एवं नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलको उपस्थितिमा अगुवा कार्यकर्ता भेला आयोजना गर्नेछ । रासस

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार २२:२५