१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कर्णाली जाग्दा देश जाग्छः अध्यक्ष नेपाल


९ माघ, कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कर्णाली जाग्दा देश नै जाग्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाटमा अध्यक्ष पूर्वप्रधानमन्त्री नेपालले मुलुकको हरेक आन्दोलनमा कर्णालीको अग्रणी भूमिका रहेको जनाउनुभयो ।

कार्यक्रममा उहाँले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमा व्यवस्था नभएको बताउँदै प्रधानमन्त्रीको सो कदम लोकतान्त्रिक नभएको तर्क गर्नुभयो । “देश सङ्कटतर्फ धकेलिएको छ भने अर्कातर्फ नेकपा विभाजन भएको छ”, अध्यक्ष नेपालले भन्नुभयो, “यसले नेपाली जनतामा निराशा छाएको छ । अब नेपाली जनताले विधि र बहुमतलाई कदर गर्दै एकताबद्ध भएर लड्नुपर्छ ।”

पार्टी सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय सदस्यसम्मको बैठकबाट भागेर विधान र नीतिभन्दा माथि हुन खोज्नु गलत भएको बताउँदै उहाँले विधिसँग अघि बढौँभन्दा पदलोभी भनेर सङ्ज्ञा दिइएको भनी विरोध जनाउनुभयो । अध्यक्ष नेपालले पार्टीको विधि, पद्धति र विधानभन्दा माथि कोही नहुने स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार १३:२७