१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यातायात व्यवसायीसँग घुस लिने तीन प्रहरी पक्राउ


७ माघ, चितवन । यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मङ्गलबार राति ९ः०० बजे पुलचोकबाट पक्राउ गरेको हो ।

कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लोकशहादुर घर्ती, जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मीमगरलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई घुस दिएको अभियोगमा एक किराना व्यवसायीसँगै पाँच जनालाई पक्राउ गरिएको गुरुङले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट घुसबापत लिएको रु दुई हजार १५० समेत बरामद गरिएको छ । उहाँले भन्नुभयो, “पक्राउ परेका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया शुरु गरिएको छ ।” गुरुङका अनुसार उनीहरुले पैसा सङ्कलनका लागि नारायणगढमा रहेको कालीगण्डकी किराना पसलका सञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेका थिए । उनलाई समेत नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिकात्मक तस्बिर ।

घुस दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन् । यस्तै केरुङ यातायातका छिरिङ लामालाई प्रहरीलाई घुस दिएको अभियोगमा पक्राउ गरी पाँचैलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो । पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरेबापत बस, अटो रिक्सा, म्याजिक भ्यानलगायतका सवारी चालकसँग रकम लिएको उहाँले बताउनुभयो ।

सात अर्ब ५१ करोड राजस्व असुली

आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ५० करोड ९९ लाख राजस्व असुली गरेको छ । राजस्व विभागले पुस महिनासम्मका लागि दिएको लक्ष्यको ८७ दशमलव ८३ प्रतिशत राजस्व असुली गरेको हो । कार्यालयका सूचना अधिकारी कपिलराज नेपालका अनुसार पुस मसान्तसम्मको लक्ष्य रु आठ अर्ब ५५ करोड तीन लाख ११ हजार रहेको थियो । विभागले कार्यालयलाई यस वर्ष रु १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार लक्ष्य दिएको थियो । पुस महिनासम्ममा सो लक्ष्यको ३९ दशमलव ७० प्रतिशत राजस्व सङ्कलन भएको हो ।

नेपालका अनुसार चालु आवको पुससम्ममा आयकरतर्फ रु एक अर्ब सात करोड ३४ लाख दुई हजार, बहालकरतर्फ रु २२ लाख ६० हजार, ब्याजकरतर्फ रु छ करोड ८७ लाख १२ हजार राजस्व सङ्कलन भएको छ । यस्तै मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ७१ लाख ७४ हजार, अन्तःशुल्क रु पाँच अर्ब तीन करोड ३९ लाख १२ हजार, शिक्षा सेवा शुल्कमा रु एक लाख १५ हजार र स्वास्थ्य सेवा करमा रु ३९ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ ।

गत आवको पुस मसान्तसम्ममा रु १५ अर्ब चार करोड ४४ लाख ७७ हजार राजस्व सङ्कलन भएको थियो । चालु आवसँगै नवलपुर क्षेत्रको राजस्व कावासोती कार्यालयमा सङ्कलन हुन थालेपछि यहाँको राजस्व सङ्कलनमा कमी आएको हो । नवलपुर क्षेत्रमा मदिराजन्य ठूला उद्योग छन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार १७:३६