४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत


७ माघ, तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गर्नु भएको छ । ट्रम्पले आजै आफ्ना कार्यालय छोड्दै हुनुहुन्छ । ‘एक अत्याचारी शासकको युगको अन्त्य भयो र आज उनको अशुभ शासनको अन्तिम दिन हो ।

उनले चार वर्षसम्म अन्याय र भ्रष्टाचार र आफ्नै जनता र संसारका लागि समस्या निम्त्याउनु बाहेक अरु कुनै फलदायी कार्य गरेनन् ’ रुहानीले एक टेलिभिजनमा गर्नु भएको टिप्पणीमा बताउनु भएको छ । शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै हुनुहुन्छ ।

गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनु भएको थियो । रिपब्लीकन पार्र्टीका उम्मेदवार हुनुभएका राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रुपमा राष्ट्रपतिमा निर्वाचित हुन पाउनु भएन । राष्ट्रपति ट्रम्पले सन २०१६ मा सत्ता सम्हाले लगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दी गर्नु भएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार १५:५१