७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पर्यटन व्यवसायीलाई अर्थ र पर्यटन मन्त्रीको आश्वासन, सरकार साथमा छ


६ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड—१९ का कारण धरासायी बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्ने बताएका छन् ।

पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी तथा प्रतिनिधिसहित अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहन कार्यक्रमहरु ल्याएको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए ।बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समाधानका लागि अग्रसरता लिएर अघि बढ्ने पौडेलले बताए ।

यो परिस्थितिमा अघि बढ्दा कठिनाइ परे सहजीकरण र सहयोगसमेत गर्ने प्रतिवद्धता उनले जनाएका छन् ।कोभिड–१९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने विश्वास गर्दै अर्थमन्त्री पौडेलले भने, ‘पर्यटन र होटल क्षेत्रमा परेका अप्ठ्याराप्रति संवेदनशील छौं । तपाईंहरु अघि बढ्नुहोस्, सरकार साथमा छ ।’

उनले पर्यटन व्यवसायको क्षेत्रमा विद्युत डिमाण्ड शूल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गर्ने बताए ।कार्यक्रममा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखा परेका समस्या सामाधानका लागि मन्त्रालयले सम्बन्धित क्षेत्रसँग छलफल गरेको जानकारी दिँदै कोभिड–१९ ले सरकारलाई परेको अप्ठ्यारोलाई निजी क्षेत्रलाई बुझिदिन आग्रह गरे ।

अर्थ सचिव शिशिरकुमार ढुंगानाले नीतिहरुमा समस्या नभएको स्पष्ट पार्दै कार्यान्वयनका लागि थप पहल गर्ने बताए ।पर्यटन तथा होटल व्यवसायीहरुले व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि बढीमा दुई वर्षको हुने उल्लेख भएकोमा तीन वर्ष गरिदिन आग्रह गरे ।

त्यस्तै कर्जा चुक्ता गर्न अवधि अधिकतम ४ वर्ष उल्लेख भएकोमा ५ वर्षको व्यवस्था गर्र्न, विद्युत डिमाण्ड शुल्क छुटको व्यवस्था गरिदिन र व्यवसायमा विद्यामन ऋणका लागि व्यवस्था भइसकेको धितोको मूल्यमा नै शत प्रतिशतसम्म हुनेगरी ऋण प्रवाह गर्न व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

यस्तै पुनर्कर्जामा पनि ग्राहक कर्जा सीमा २० करोड रुपैयाँ रहेकोमा सो रकमभन्दा माथिको आवश्यक्ता देखिएमा सीमालाई बाध्यकारी नबनाउने व्यवस्था मिलाउने लगायतका माग गरेका थिए ।

उनीहरुले पुनर्कर्जा र व्यवसायिक निरन्तरता कर्जा प्रवाहमा समस्या रहेको बताएका थिए । बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान), होटल एशोसियसन अफ नेपाल(हान) रेष्टुरेन्ट एशोसियसन लगनयतका प्रतिनिधिहरूका सहभागिता थियो ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार १८:०९