८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति पर्याे आवेदन


६ माघ, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) मा आवेदन दिने अन्तिम दिन रहेकाे छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएकाे छ ।

सोमबार ५ बजेसम्ममा १४ करोड १९ लाख ९६ हजार ४२० कित्ता अर्थात १४ अर्ब १९ करोड ९६ लाख ४२ रुपैयाँ बराबर शेयर खरिद आवेदन परिसकेको छ। सो अवधिसम्ममा ११ लाख ७७ हजार ९२० वटा आवेदनबाट सो बराबरको शेयर माग भएको हो। उक्त आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको १.८७ गुणा बढी हुन आउछ।

इन्फ्रास्ट्रक्चर बैंककाे आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सक्नेछन् ।उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ। बैंकले ठूलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले शेयर पाउने  छन्।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेकाे मानिनेछ । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार १०:०४