८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रैथाने एग्रि प्रडक्टस् को प्रथम वार्षिक साधारण सभा सम्पन्न


माघ ५, काठमाडौँ । रैथाने एग्री प्रडक्टस् नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा संचालक सदस्य तथा प्रबन्ध निर्देशक श्री शंकर प्रसाद गौतमबाट आ.व.२०७६÷२०७७ को आर्थिक प्रतिवेदन तथा आ.व.२०७७÷२०७८ को प्रस्तावित कार्यक्रम तथा बजेट साधारण सभामा पेश गरिएको थियो भने संचालक सदस्य श्री उपेन्द्र राज कुइकेलले सामग्री खरिद, व्यवसाय तथा सेवा तथा भावी रणनीतिको बारेमा साधारण सभामा पेश गर्नुभएको थियो ।

उक्त साधारण सभामा उपस्थित शेयर सदस्य तथा विषय विज्ञसमूहहरुबाट आर्थिक तथा प्रगति प्रतिवेदन, प्रस्तावित कार्यक्रम तथा भावी रणनीतिमाथि छलफल गरी कम्पनीलाई गतिशिल बनाउन उचित रायसुझाव सहित अनुमोदन गरिएको थियो । संस्थाकाे अध्यक्ष तिलक ढकालकाे सभापतित्वमा साधारण सभा सम्पन्न भएकाे हाे ।

दुई करोड तीन लाख चुक्ता पूँजीबाट सुरु गरिएको यस कम्पनीले सँघ, प्रदेश र स्थानीय तहमा क्रियाशिल समान उद्देश्यका कम्पनी, फर्म, सहकारी, किसान समूह तथा अन्य सरोकारवाला संघ सस्थाहरुसँग समन्वय र साझेदारीमा किसानहरुलाई ज्ञान, सिप र प्रविधि प्रदान गरी उत्पादनको उचित मूल्य उपलब्ध गराउने तथा उत्पादक, किसान तथा उपभोक्ताबीच समन्वयकर्ताको रुपमा भूमिका खेली रैथाने वस्तु संरक्षण, प्रबद्र्धन तथा बजारिकरणलाई सहजिकरण गर्दै आइरहेको छ । एक वर्षमा यस कम्पनी २७ वटा जिल्ला र ८००० किसानहरु जोडिएका छन् ।

उपभोक्ताहरुको हातहातमा रैथाने उत्पादन

नेपालका बिभिन्न जिल्लाका किसान समूहबाट उत्पादित र संकलित रैथाने कृषि उपजहरु प्रशोधन र प्याकिङ गरी नियमितरुपमा बिक्री गर्ने गरिएको छ । पाएक पर्ने स्थानहरुमा फराकिलो ठाँउको खोजी गरी गोदाम, प्रशोधन र बिक्री केन्द्र समेत एकीकृतरुपमा सञ्चालन गर्ने योजना कम्पनीको प्राथमिकतामा रहेको अध्यक्ष तिलक ढकालले बताउनु भयो । हाल चप्पल कारखानामा स्टोर तथा बिक्री केन्द्रको स्थापना गरिएको छ । कम्पनीले होमडेलिभरी सेवा समेत संचालन गर्दै आइरहेको छ । हरेक शनिवार घुम्ती हाटबजारको समेत सुरुवात भएको छ । कम्पनीले आफ्नो व्यवसाय, कारोवार तथा सूचना प्रवाह गर्नको लागि सामाजिक संजालहरु पनि प्रयोगमा ल्याएको छ । रैथाने एपको निर्माण अन्तिम चरणमा भइरहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १६:२६